काठमाडौं । द्वन्द्व निर्देशक तथा खलनायक राजेन्द्र खड्गी थुनामुक्त भएका छन् । उनीमाथि लागेको मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्धाको सुनुवाई उच्च अदालत पाटनले धरौटी लिएर रिहा गर्न आदेश दिएको छ ।
उच्च अदालतले तोकेको पाँच लाख रुपैयाँ धरौटी बुझाएर उनी आइतबार नै थुनामुक्त भएका हुन् । मानव बेचबिखन तथा ओसारपसार अभियोगमा उनलाई काठमाडौं जिल्ला अदालतले गत १८ फागुनमा थुनामा राखेर मुद्धाको सुनुवाई अघि बढाउन आदेश दिएको थियो ।
जिल्ला अदालतको सो आदेशविरुरुद्ध खड्गीले उच्च अदालत पाटनमा पुनरावेदन (१७ नम्बर निवेदन) दर्ता गराएका थिए । सो पुनरावेदनको सुनुवाईपछि उच्च अदालतका न्यायाधीशद्वय विनोदमोहन आचार्य र अनन्तराज डुम्रेको इजलासले थुनामा राखेर मुद्धा सुनुवाई गर्ने जिल्ला अदालतको आदेश बदर गर्दै धरौटीमा छाड्ने आदेश गरेको हो ।
एउटा वृत्तचित्र निर्माण गर्ने र त्यसका लागि सांस्कृतिक कार्यक्रम गर्ने भन्दै दक्षिण कोरियामा लगेर १२ जना नेपालीलाई छाडेको आरोप खड्गीमाथि लागेको थियो । ती व्यक्तिसँग उनले मोटो रकम लिएको आरोपमा जेल जानु परेको थियो ।
खड्गीले आफ्नो मुलुकमा मानिस छाडेर आएको भन्दै उनीविरुद्ध काठमाडौंस्थित दक्षिण कोरियाली राजदुतावासले उजुरी दिएपछि केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो ।
दक्षिण कोरियामा लुकेकाहरु आफ्नो वृत्तचित्रका निर्माता भएको र उनीहरुले वृत्तचित्रमा लगानी गरेको तर उनीहरुसँग आफूले विदेश लैजान पैसा नलिएको खलनायक राजेन्द्र खड्गीले बताउँदै आएका थिए ।