काठमाडौं । विराटनगरमा शनिबार जोखिम व्यवस्थापन तथा बीमासम्बन्धी समसामयिक विषयमा एकदिवसीय सेमिनार सम्पन्न भएको छ।

नेपाल बीमा अनुसन्धान तथा व्यवस्थापन संघ (एनआईआरएमए) को आयोजना र नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (एनआईपीएस)को सहकार्यमा सम्पन्न कार्यक्रममा जीवन बीमा, निर्जिवन बीमा तथा लघु बीमा कम्पनीबाट १६० जना कर्मचारीको सहभागिता थियो सेमिनारको उद्घाटनसत्र एनआईपीएसको कोशी प्रदेश अध्यक्ष खड्गबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कोशी प्रदेश प्रमुख विनोद पोखरेल, एनआईआरएमएका अध्यक्ष डा रविन्द्र घिमिरे र एनआईपीएसका कोशी प्रदेश अध्यक्ष खड्गबहादुर श्रेष्ठद्वारा संयुक्त रुपमा गरियो। स्वागत मन्तव्य एनआईपीएसका उपाध्यक्ष प्रदीप ाबु तिवारीले तथा कार्यक्रम सञ्चालन सचिव प्रकाश पोखरेलले गरेका थिए।

कार्यक्रममा अतिथिका रुपमा नेपाल बीमा सर्भेयर संघका केन्द्रीय सदस्य ओमप्रकाश राठीले बीमा व्यवसायमा नैतिकता र नियमित तालिमको आवश्यकता औँल्याउँदै बीमा कर्मचारी र सर्वेक्षकलाई अद्यावधिक ज्ञान र व्यावसायिक आचरणलाई आत्मसात गर्न जोड दिए। नेपाल पुनर्बीमा कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारीले यस्ता तालिमले गुणस्तरीय व्यवसाय अभिवृद्धि, नैतिक जोखिम न्यूनीकरण, र कम्पनीको विश्वसनीयता सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै पुनर्बीमा कम्पनी सधैँ कर्मचारीको क्षमता अभिवृद्धिमा तत्पर रहेको उल्लेख गरे।

कार्यक्रमका मुख्य उद्देश्यमा बीमा सिद्धान्त, अन्डरराइटिङ, दाबी व्यवस्थापन, पुनर्बीमा र समसामयिक जोखिम व्यवस्थापन विधिबारे उन्नत प्रशिक्षण प्रदान गर्नु, आधुनिक जोखिम विश्लेषण र ठगी नियन्त्रणका प्रविधि सिकाउनु, अन्तर्राष्ट्रिय अभ्यास साझेदारी गर्नु, बीमा क्षेत्रमा अनुसन्धान र छलफलको वातावरण निर्माण गर्नु समावेश थियो।

सेमिनारमा विभिन्न ५ सेसनहरु सञ्चालन गरिएको थियो । डा घिमिरेले जोखिम व्यवस्थापन र बीमा क्षेत्रका समसामयिक विषयमा प्रस्तुति दिए। उनले बीमा क्षेत्रमा व्याप्त नैतिक समस्या, सेवा स्तरमा सुधारको आवश्यकता र नेपालमा बीमा उद्योगलाई विश्वसनीय बनाउने उपायमा जोड दिए।

बीमा कम्पनीका कर्मचारीहरुले उच्च इमानदारी, पारदर्शिता र अद्यावधिक ज्ञान राख्नुपर्ने उल्लेख गर्दै घिमिरेले बीमा उद्योगलाई सामाजिक रुपमा मान्यता प्राप्त बनाउने अभियानमा सबैको उत्तरदायित्व रहेको बताए। साथै, बीमा व्यवसाय शुद्धीकरणमा कर्मचारीको भूमिका महत्वपूर्ण हुने भन्दै उनले निरन्तर सिकाइको महत्वमाथि जोड दिए।

बीमाविज्ञ विनोदकुमार पोखरेलले कर्पोरेट सुशासन र बीमासम्बन्धी कानुनी प्रावधान विषयमा विस्तृत रुपमा प्रस्तुत गरे। उनले बीमा ऐन तथा नियमावलीअनुसार कर्मचारी, व्यवस्थापन तथा बोर्ड सदस्यको अधिकार, कर्तव्य र दण्ड व्यवस्थाबारे चर्चा गर्नुभयो। बीमा पॉलिसी जारी गर्दा दररेट, निक्षेप पर्ची जाँच गरी ात्र बीमालेख जारी गर्नुपर्ने स्मरण गराउँदै हरेक कर्मचारीले नियमको कार्यान्वयनमा समान जिम्मेवारी वहन गर्नुपर्ने उल्लेख गरे। कर्पोरेट सुशासनले मात्र बीमा कम्पनीलाई दिगो बनाउन सक्ने उनको भनाइ थियो।

नेपाल पुनर्बीमा कम्पनीका प्रमुख प्रबन्धक ईश्वर प्रधानले दाबी व्यवस्थापन र पुनर्बीमा अन्डरराइटिङ अभ्यास विषयमा प्रस्तुति दिए। उनले जोखिम स्वीकार्दा उचित अन्डरराइटिङ प्रक्रिया अपनाउनुपर्ने र दाबी दाबी गर्दा सत्यता परीक्षण अनिवार्य हुनुपर्नेमा जोड दिए। बीमा व्यवसायलाई सुरक्षित बनाइ राख्न अनुशासित दाबी व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्दै उनले ठगीजन्य दाबी रोक्न चेतावनी दिए।
पुनर्बीमा व्यवसायको सुदृढ अभ्यासमार्फत बीमा कम्पनीहश्रले आफ्नो दीर्घकालीन स्थायित्व कायम राख्न सक्ने उनको भनाइ थियो।

बीमा तथा जोखिम व्यवस्थापन विज्ञ उदयराज अधिकारीले नेपालको सन्दर्भमा जोखिम व्यवस्थापन र बीमा क्षेत्रको समस्या शीर्षकमा आफ्नो विचार राखे। उनले जोखिम पहिचान, मूल्यांकन र न्यूनीकरणमा नेपालका बीमा कम्पनीहरुबीच समन्वय र सुधारको खाँचो औँल्याउनुभयो। बीमा कम्पनीका कर्मचारीले केवल बिक्रेता नभई जोखिम सल्लाहकारको भूमिका खेल्नुपर्ने र ग्राहकको विश्वास जित्न पारदर्शिता र व्यावसायिक आचरणमा सुधार ल्याउनुपर्ने बताए।

बीमा विज्ञ नारायणकुमार भट्टराईले जीवन बीमामा विद्यमान समस्याहरु विषयमा विस्तृत रुपमा प्रस्तुत गरे। उनले बीमा पोलिसी समयपूर्व रद्द हुने समस्या, न्यून प्रतिफल, अस्वस्थ प्रतिस्पर्धा, अपर्याप्त प्रशिक्षण, नियामकीय अस्थिरता, ठगीजन्य गतिविधि र आन्तरिक कमजोरीबारेमा चर्चा गरे।

जोखिमको परिभाषा, जोखिम व्यवस्थापनका उपाय तथा जीवन बीमामा जोखिम समूहीकरण र मृत्युदरका आधारमा प्रिमियम निर्धारण हुनेसमेत उनले स्पष्ट पारे।

सहभागीहरुका तर्फबाट दुई जनाले कार्यक्रमको समीक्षा गर्दै यस्ता तालिम, सेमीनार नियमित रुपमा गर्नु आवश्यक भएको र यो कार्यक्रम आफूहरुलाई निकै उपलब्धिमूलक हुने बाए। उनीहरुले आगामी दिनमा पनि निरमाबाट अझै गहन विषयमा लामो अवधिका तालीमहरु गराउनका लागि अनुरोध गरे।

कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया