विराटनगर ÷ भारत, बिहार राज्यको पूर्णियाको विद्या विहार इन्सटिच्यूट अफ टेक्नोलोजीमा आयोजित ‘नेपाल भारत साझेदारी शिखर सम्मेलनमा नेपाल भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई) कोशी प्रदेश समितिले सहभागिता जनाएको छ ।
संघका कोशी प्रदेश अध्यक्ष मुकेश उपाध्यायको नेतृत्वमा एनआईसीसीआईको टोलीले सहभागिता जनाएको हो । छिमेकीसँगका सहकार्यलाई तीव्रता विषयमा आधारित सम्मेलनको आयोजना सब–हिमालयन रिसर्च इन्सटिच्यूट, नेपाल भारत सेन्टर र पीएचडी च्याम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिज, नयाँदिल्लीले गरेको थियो । जवाहरलाल नेहरू विश्वविद्यालयका ट्रष्टी प्रा मनिन्द्रनाथ ठाकुरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्टि वक्ताहरूमा नेपाल भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई) कोशी प्रदेशका अध्यक्ष मुकेश उपाध्याय, सब–हिमालयन रिसर्च इन्सटिच्यूटका अध्यक्ष प्राध्यापक रत्नेश्वर मिश्रा, नेपाल भारत सेन्टर र पिएचडी च्याम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजका सचिव अतुल ठाकुर, पूर्णिया विश्वविद्यालयका उपकुलपति प्राध्यापक पवनकुमार झा थिए ।
नेपाल भारत आपसी सम्बन्ध, नागरिकहरूबीचको सम्बन्ध, वातावरणीय सहकार्य र सामूहिक विपद व्यवस्थापन, आर्थिक अन्तरनिर्भरता तथा व्यापार, नेपाल भारत द्विपक्षीय सहकार्यमा तीव्रता, नेपाल–भारतको औद्योगिक विकाश प्रवद्र्धन, द्विपक्षीय व्यापार नीतिको पुनरावलोकन (१९५० को सन्धी र १९९६ को पुनरावलोकन) र सीमा क्षेत्रहरूको विकासलगायत विषयमा विशिष्ट वक्ताहरूले आ–आफ्नो धारणा राखेका थिए । सो कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा सब हिमालय रिसर्च इन्सटिच्यूट तथा विद्या विहार इन्सटिच्यूट अफ टेक्नोलोजी र नेपाल भारत उद्योग वाणिज्य संघ कोशी प्रदेशबीच आपसी सम्बन्धका विविध विषयहरूमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा संघका कोशी प्रदेशका अध्यक्ष उपाध्यायले गरेका थिए । अध्यक्ष उपाध्यायले कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना रहेकाले लगानी गर्न भारतीय लगानीकर्तालाई आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया