विराटनगर। कोशी प्रदेशको राजधानी विराटनगरमा विराट फुटसल च्याम्पियनसिप-२०८२ हुने भएको छ। मन्जिना फाउन्डेसन नेपालको आयोजना र कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा वैशाख २२ गते देखि प्रतियोगिता सुरु हुने भएको हो।
प्रतियोगितामा कोशी प्रदेशका ५ जिल्लाको सहभागिता रहने मन्जिना फाउन्डेसनका अध्यक्ष जतिन ताम्राकारले बताउनु भयो। ताम्राकारका अनुसार प्रतियोगितामा मोरङ , झापा , सुनसरी , धनकुटा र उदयपुरको जिल्ला टिमको सहभागिता रहने छ।
युवापुस्तामा पछिल्लो समय फुटसलको क्रेज रहेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत फुटसल खेलमा सम्भावना देखिएकोले प्रतियोगिता आयोजना गर्न लागिएको ताम्राकारले प्रष्ट पार्नुभयो।
ताम्राकारले फाउन्डेसनले यस भन्दा अघि कर्पोरेट फुटसल प्रतियोगिता आयोजना गरिसकेको बताउँदै जिल्ला स्तरीय टोलीको सहभागितामा भने पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिनुभयो।
प्रतियोगितामा पहिलो हुने टोलीलाई ३१ हजार नगद सहित ट्रफी , मेडल र दोस्रो हुने टोलीलाई २१ हजार नगद ट्रफी , मेडल प्रदान गरिने छ। प्रतियोगिताको सम्पूर्ण खेल विराटनगर स्थित जम्बोरे फुटसलको कोर्टमा हुनेछ।