विराटनगर । विराटनगरमा तेस्रो संस्करणको एम.एम. कप क्रिकेट प्रतियोगिता हुने भएको छ । एम.एम. कप फाउण्डेशन इनरुवाको आयोजनामा विराटनगर–१९ स्थित बैजनाथपुर क्रिकेट मैदानमा प्रतियोगिता हुन लागेको छ ।
आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा छ टोलीको सहभागिता रहने एम.एम कप फाउण्डेशनका अध्यक्ष विप्लव घोषले जानकारी दिनुभयो । उनका अनुसार प्रतियोगिता आगामी बैशाख १३ देखि २० गतेसम्म विराटनगर १९ स्थित बैजनाथपुर क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, एपीएफ क्लब, कोशी प्रदेश, बागमती प्रदेश र आसाम क्रिकेट क्लब भारत सहभागि हुनेछन् । खेल ५० ओभरमा खेलाइने छ । प्रतियोगिताको विजेता टोलीले चार लाख र उपविजेताले दुई लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै प्लेयर अफ द टुर्नामेन्टलाई २५ हजार, उत्कृष्ट ब्याटरलाई १५ हजार, उत्कृष्ट बलरलाई १५ हजार र प्लेयर अफ द म्याचलाई चार हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान नगरिने फाउण्डेशनका अध्यक्ष घोषले जानकारी दिनुभयो ।
फाउण्डेशनले यसअघि २०७५ मा पहिलो र २०७६ सालमा दोस्रो संस्करणको प्रतियोगिता सुनसरीको इनरुवामा सम्पन्न गरेको थियो । पहिलो र दोस्रो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको थियो ।
आयोजकका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र एपीएफबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो दिन एपीएफ र बागमती प्रदेश खेल्दा तेस्रो दिन बागमती र आर्मी खेल्नेछन् ।
यस्तै चौथो दिन नेपाल पुलिस क्लब र कोशी प्रदेशबीच खेल हुनेछ भने पाँचौ दिन कोशी र आसामबीच प्रतिस्पर्धा हुनेछ । छैठौं दिन आसाम र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । फाइनल खेल बैशाख २० गते हुनेछ ।

तपाईको प्रतिक्रिया