विराटनगर ÷ विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ ।
विराटनगरस्थित एभरेष्ट बैंक लिमिटेडले सडक सौन्दर्यकरणका लागि पहिलो चरणमा १ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । महानगरको सौन्दर्यकरणका लागि क वर्गका बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत २ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएअनुरुप एभरेष्ट बैंकले पहिलो चरणमा १ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।
सौन्दर्यकरण परियोजनाका लागि महानगरका तर्फबाट सहजीकरण गरिरहेका सरसफाई शाखा प्रमुख पुनमकुमार दाहाललाई बैंकका कोशी प्रदेश प्रमुख सुधीर गौतमले चेक हस्तान्तरण गरे । महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजना अगाडि बढाएको छ । सो परियोजना सम्पन्न गर्न ५५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।
एभरेष्टसहित १८ वटा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट ३२ लाख ५० रुपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको छ । यसअघि एनआईसी, एनआईएमवी, नेपाल बैंक, ग्लोबल आइएमई, कुमारी बैंक, सानिमा बैंक, कृषि विकास बैंक, एनएमवी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, एसवीआई बैंक, हिमालयन बैंक, नविल बैंक, लक्ष्मी सनराइज, सिटिजन बैंक, सिद्धार्थ बैंक, प्राइम बैंक, छिमेकी लघुवित्त र जीवन विकास लघुवित्त वित्तीय संस्थाले रकम जम्मा गरिसकेका थिए ।
महानगरको आग्रहमा सामाजिक उत्तरदायित्वअन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूले बरगाछी–रानी सडक सौन्दर्यकरणमा सहयोग पु¥याइरहेका छन् । हाल तारजाली लगाएर फूल रोप्ने कार्य अन्तिम चरणमा पुगेको छ । बरगाछी–रानी सडकखण्डमा रहेका ४६ वटा डिभाइडरमध्ये २ वटामा मात्रै अब तारजाली लगाउन बाँकी छ । करिब ४ वटा डिभाइटरमा मात्रै फूल रोप्न बाँकी रहेको उनले बताए । यसअघि रोपेका फूल र विरुवाका कारण विराटनगर सुन्दर देखिएको छ ।
महानगरका मेयर नागेश कोइरालाले विराटनगरको विराटनगरको समग्र विकासमा सबैको सहयोग आवश्यक रहेको बताउँदै आएका छन् । बैंक तथा वित्तीय संस्थाहरूको उत्साहजनक सहभागिताले सडक सौन्दर्यकरणले मूर्त रुप लिएको मेयर कोइरालाको भनाइ थियो । महानगरले सौन्दर्यकरण जस्तै अन्य परियोजना पनि सञ्चालन गर्ने योजना बनाइरहेको मेयर कोइरालाले बताए ।
महानगरको सडक सौन्दर्यकरणका लागि एभरेष्ट बैंकको सहयोग
