विराटनगर २४ चैत । नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दिपक आचार्यले स्थानीय स्तरको मिडियाले नै अबको पत्रकारिता जोगाउने अवस्था सृजना भएको बताउनु भएको छ ।

पत्रकार महासंघ मोरङले विराटनगरमा आज आयोजना गरेको पत्रकारहरूसँगको अन्तरक्रियामा उहाँले अबको पत्रकारिता जोगाउन स्थानीय स्तरको मिडिया सशक्तीकरण गर्नुको विकल्प नभएको बताउनुभयो ।

स्थानीय स्तरको मिडियालाई सशक्तीकरण गर्न नसकिए पत्रकारिता नै नरहने अवस्था छ, ‘उहाँले भन्नुभयो, ‘त्यसैले स्थानीय मिडियालाई समानुपातिक रूपमा विज्ञापन उपलब्ध गराउनुका साथै विज्ञापनको दायरा बढाउन महासंघले पहल थालेको छ ।’ सरकारलाई मदिरा, अ‍ौषधीलगायतको विज्ञापन खुलाउन सरकारसँग पहल थालेको आचार्यले जानकारी दिनुभयो । उहाँले प्रेस काउन्सिलमा भइरहेको मिडिया वर्गीकरणलाई पनि समय सुहाउँदो बनाएर राष्ट्रिय र स्थानीय मिडियाको रूपमा विभाजन नगर्न र स्थानीय र प्रदेशस्तरको विज्ञापन त्यहीको मिडियालाई उपलब्ध गराउनु पर्ने व्यवस्थाका लागि पहल थालेको बताउनुभयो ।

कार्यबाहक अध्यक्ष आचार्यले नेपालको पत्रकारिता संकटपूर्ण अवस्थामा रहेको र राज्यले निर्माण गरेको कुनैपनि कानुन मिडियामैत्रि नभएको सुनाउनुभयो । त्यसैले तीनै तहको सरकारले पत्रकार महासंघसँगको समन्वयमा कानुन निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले सामाजिक सञ्जाल विधेयक यथास्थितिमा पारित गर्न खोजिए महासंघ सशक्त आन्दोलनमा उत्रने बताउनुभयो । ‘राजावादीको आन्दोलनमा पत्रकार सुरेश रजकको नियोजित र योजनाबद्ध रूपमा हत्या भएको महासंघको ठहर छ,‘ उहाँले भन्नुभयोे, ‘त्यसैले पत्रकार र मिडिया हाउस असुरक्षित रहेको पनि महासंघको ठहर छ ।’

महासंघको कोषाध्यक्ष रामकृष्ण अधिकारीले पत्रकारहरुको स्वास्थ्य बीमा गर्ने, सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने, स्थानीय मिडिया हाउसलाई सशक्त बनाउने, पत्रकारहरुलाई पेशागत मर्यादामा रहेर आत्मरक्षा तालिम गराउने जस्ता योजना अघि सारेको जानकारी दिनुभयो । पत्रकार रजकलाई सहिद घोषणा, परिवारलाई क्षतिपुर्ति, परिवारका एक जना सदस्यलाई रोजगारी र रजकको प्रतिमा तीनकुनेमा राख्नुपर्ने महासंघको माग रहेको आचार्यले जानकारी दिनुभयो ।

गृह मन्त्रालयले १० लाख राहत र सूचना, प्रविधि तथा सञ्चार मन्त्रालयले रोजगारी दिने प्रतिबद्धता जनाइसकेको र बाँकी दुई वटा माग प्रधानमन्त्रीसँगको छलफलबाट अघि बढाउने उहाँले सुनाउनुभयो । काममा खटिने पत्रकारलाई सुरक्षित राख्न महासंघले कदम चालिसकेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया