काठमाण्डौ – काठमाण्डौको तीनकुनेमा शुक्रवार पूर्वराजाको समर्थकले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले अहिलेसम्म एक सय ११ जनालाई पक्राउ गरेको छ । पूर्वराजाको समर्थनमा भएको प्रदर्शनका क्रममा आक्रमण, तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेका र उक्साउनेसहित एक सय ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।
प्रहरीका अनुसार अस्ति शुक्रवार एक सय पाँच जना र हिजो छ जना पक्राउ परेका हुन् । शुक्रवारको प्रदर्शनमा दुई जनाको ज्यान जानुका साथै प्रहरी र प्रदर्शनकारीसहित एक सय २८ जना घाइते भएका थिए । प्रहरीका अनुसार व्यक्तिगत र सरकारी कार्यालय गरी १८ वटामा तोडफोड भएको छ ।
विभिन्न १२ ठाउँमा आगजनी तथा एक ठाउँमा तोडफोड तथा लुटपाट भएको छ । प्रहरीको छ, सरकारी कार्यालयको चार, विवरण नखुलेको छ गाडी तथा विवरण नखुलेको स्कुटर र मोटरसाइकलसहित छ वटामा तोडफोड भएको र केही गाडी जलाइएको प्रहरीले जनाएको छ ।