ललितपूर। मुक्तककार नानीबाबा अधिकारीको पहिलो मुक्तकसंग्रह ‘मायामा माया’ लोकार्पित भएको छ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान,जाउलाखेलमा बिहिबार आयोजित एक कार्यक्रममा उक्त मुक्तकसंग्रहको लोकार्पण भएको हो । गीतकार तथा वरिष्ठ चलचित्रकर्मी यादब खरेल,श्रीओम श्रेष्ठ ‘रोदन’,रामकाजी कोने लगायत मञ्चासिन व्यक्तित्वहरुले उक्त मुक्तक कृति लोकार्पण गरे ।

नेपाल स्रष्टा समाजको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि खरेलले अक्षरको कर्म गर्ने एक मुक्तककारको कृति सार्वजनिक गर्न पाउँदा खुशी लागेको बताए । उनले छ आयाममा बाँडिएका मुक्तकहरुले पाठकको मन खिच्ने बताए । पछिल्लो समयमा मुक्तकमा प्रगति भएको चर्चा गर्दै उनले अभियन्ताहरु धन्यवादको पात्र भएको बताए । नेपाल स्रष्टा समाजका संरक्षक पवन आलोक,पूर्व अध्यक्ष एवं वरिष्ठ कवि विधान आचार्य,नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने,मुक्तककारका पिता मुक्तिनाथ खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

मुक्तककार अधिकारीले स्कूल पढ्दा गुरुले वाचन गरेको कविता सुनेर साहित्यमा प्रवेश गरेको भन्दै सुनेका,देखेका र भोगेका कुराहरुले लेख्न प्रेरित गरेको जानकारी दिइन् । कवि साहित्यकार विधान आचार्यले घच्घचाएर कृति निकाल्न सफल भएको उनको भनाई थियो ।समालोचक डा।शान्तिमाया गिरीले मुक्तकहरु उमेर,समय र अनुभवको त्रिवेणी रहेको बताइन् । कुल चार सय पचास थान मुक्तक समावेश भएको उक्त कृतिमा प्रायस मुक्तकहरु श्रृँगारिक रहेको भन्दै मायाको विषयमा सबै मुक्तक केन्द्रित भएको जानकारी दिइन। उनले गहिरो प्रेम,विश्वास,सुख सम्बृद्धिलाई प्राथमिकता दिएको बताइन् । नारीको बारेमा पुरुषको प्रेमिल तारिफ मुक्तकमा भएको भन्दै पठनीय मुक्तकसंग्रह भएको टिप्पणी गरिन् ।

कार्यक्रमका सभापति एवं नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले एउटै विषयमा चार सय पचास थान मुक्रक लेखेर प्रकाशन गर्ने आँटको निम्ति मुक्तककारलाई धन्यवाद दिए । उनले नेपाल मुक्तक प्रतिष्ठानले पोखरामा मुक्तकको कार्यशाला गोष्ठी गरेको स्मरण गर्दै त्यसको साक्षी आफु पनि रहेको बताए । उनले मुक्तक अभियानमा नेपाल मुक्तक प्रतिष्ठानको भूमिकाको चर्चा समेत गरे । समाजका सचिव प्रकाश घायलले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन समाजका कार्यसमिति सदस्य माधव बिंडारी चेतनपथले गरेका थिए ।

तपाईको प्रतिक्रिया