दिलकुमार घमाल
बालबालिका देशका भविष्यका कर्णधार हुन् । उनीहरूको शिक्षा र विकासले समाजको समृद्धि र उन्नतिको मार्ग निर्धारण गर्छ । तर, आजकल धेरै ठाउँमा बालबालिकामा पढाइको अत्यधिक दबाब दिइन्छ, जसले उनीहरूको मानसिक स्वास्थ्यमा असर पु¥याउन सक्छ । हामीले बुझ्नुपर्छ कि मात्र उच्च अंक ल्याउनु भनेको जीवनको सफलता होइन । जीवनमा सफलता प्राप्त गर्नका लागि धेरै अन्य क्षेत्रहरूमा पनि महत्वपूर्ण अवसरहरू उपलब्ध छन् । जसलाई शिक्षा र पढाइका परिधिबाहेकका रूपमा हेर्न आवश्यक छ ।
आजका बालबालिकालाई एक तरिकाले मात्र भविष्यका लागि तयार पार्नुपर्छ भन्ने विचार समाजमा अझै प्रचलित छ । पढाइमा राम्रो अंक ल्याउने, एसईई र विश्वविद्यालय पास गर्ने, अनि त्यसपछि एउटा सुरक्षित र सम्मानजनक जागिर पाउने हाम्रो सोच बनिसकेको छ । यद्यपि, यस सोचको पछाडि रहेको धारणा पूर्ण रूपमा सत्य छैन । धेरै व्यक्तिहरू जो कम अंक ल्याएर पनि एसईई र विश्वविद्यालय पास गर्छन्, उनीहरूले आफ्नो जीवनमा उत्कृष्ट उपलब्धिहरू हासिल गरेका छन् । साँचो सफलता भनेको जीवनमा के–के गरिन्छ, कति कठिनाइहरू पार गरिन्छ र कति सकारात्मक प्रभाव उत्पन्न गरिन्छ भन्ने कुरामा निर्भर गर्छ ।
पढाइ मात्र जीवनको एक मात्र उद्देश्य होइन । कुनै पनि व्यक्तिले आफ्नो दक्षता र रुचिका आधारमा भविष्य निर्माण गर्न सक्छ । उदाहरणका लागि केही व्यक्तिहरूलाई खेलकुदमा विशेष रुचि हुन्छ । तिनीहरूले पढाइको तुलनामा खेलकुदको क्षेत्रमा बढी समय र ऊर्जा लगाउँछन् । यस्तो स्थितिमा पनि तिनीहरूले संसारभरि प्रतिष्ठा हासिल गरेका छन् । विश्वका केही नाम चिनिएका खेलाडीहरू, जो आजकलका बालबालिकाको आदर्श बन्न सक्छन् । स्कुलमा कुनै ठूलो सफलता हासिल गरेका थिएनन् । तथापि, उनीहरूले आफ्नो मेहनत र समर्पणका माध्यमबाट संसारभरि नाम कमाए ।
त्यस्तै, कतिपय व्यक्तिहरू व्यवसाय र उद्योगमा सफलता प्राप्त गर्न सक्षम भएका छन् । उद्योग र व्यवसायका क्षेत्रमा यस्ता थुप्रै उदाहरणहरू छन् जहाँ पढाइका सन्दर्भमा औपचारिक शिक्षा कम छ तर ती व्यक्तिहरूले आफ्नो बुद्धिमानी, लगनशीलता र सृजनशीलताका आधारमा ठूलो व्यापार खोल्न र चमत्कारी परिणाम प्राप्त गर्न सक्षम भएका छन् । यसरी पढाइको परिधि बाहिरको क्षेत्रमा पनि उत्थानका धेरै अवसरहरू छन्, जसलाई हामीले नजरअन्दाज गर्नु हुँदैन । विश्वविद्यालयका कक्षागत परीक्षा उत्तीर्ण नगरेका तर जीवनका सयौं पुस्तक पढेका व्यक्तिहरूले पनि सफलताको शिखर चुमेका उदाहरणहरू पाउन सकिन्छ । एउटा सामान्य पढेको व्यक्तिले उद्योग व्यवसायमा सफलता प्राप्त गरेको हुन्छ र उसले विश्वविद्यालयबाट डिग्री हासिल गरेका सयौं व्यक्तिलाई रोजगारी दिएको हुन्छ ।
राजनीति, सरकारी सेवा र न्याय क्षेत्रमा पनि यस्ता थुप्रै उदाहरणहरू छन् जसमा कम अंक ल्याउने वा नपढेका व्यक्तिहरूले ठूलो योगदान दिएका छन् । राजनीति र समाज सेवा गर्ने व्यक्तिहरूले कहिल्यै एसईई वा विश्वविद्यालयको परीक्षा उत्तीर्ण गर्नु जरूरी छैन । तिनीहरूको समाजप्रतिको प्रतिबद्धता र सेवा भाव नै तिनीहरूको वास्तविक शिक्षा र सफलता हो । त्यसैले, हामीले बुझ्नुपर्छ कि शिक्षा र पढाइबाहेक पनि विभिन्न जीवनका अन्य क्षेत्रहरूमा पनि सफलता प्राप्त गर्न सकिन्छ ।
एक कुरा स्पष्ट छ कि हरेक बालबालिका आफ्नो भविष्यको योजना बनाउन र त्यसका लागि आवश्यक कदम चाल्न स्वतन्त्र हुनुपर्छ । प्रत्येक बालबालिकाको रुचि र क्षमतालाई पहिचान गर्न महत्वपूर्ण छ । उनीहरूले के बन्न चाहन्छन् भन्ने कुरा उनीहरूको व्यक्तिगत इच्छामा आधारित हुनुपर्छ । समाज र परिवारले उनीहरूको सपनालाई समर्थन गर्न र प्रोत्साहन दिनुपर्छ । यदि कुनै बालक खेलकुदमा वा कला क्षेत्रमा भविष्य बनाउन चाहन्छ भने त्यसका लागि आवश्यक तालिम र स्रोतहरू उपलब्ध गराउनु पर्छ । यसले उनीहरूलाई मानसिक दबाबबाट मुक्त राख्नमा मद्दत पु¥याउँछ र उनीहरूको प्रतिभालाई सही दिशा दिन्छ ।
हामीले आफ्नो सोचको दायरा फराकिलो बनाउनु पर्छ र यो बुझ्नुपर्छ कि जीवनका सफलताका अनेकौं मार्गहरू छन् । पढाइ एक महत्वपूर्ण पक्ष हो, तर त्यही मात्र सफलताको एकमात्र मापदण्ड होइन । समाज र परिवारको कर्तव्य हो कि तिनीहरूले बालबालिकाको जीवनमा विविध अवसरहरूको सृजना गर्न र तिनीहरूको इच्छा र आवश्यकतालाई सम्मान गर्दै उनलाई भविष्य निर्माणको अवसर दिनुहोस् ।
आजका बालबालिका भविष्यका कर्णधार हुन् र उनीहरूको सफल भविष्यका लागि पढाइ मात्रै होइन अन्य क्षेत्रका अवसरहरूको पनि उपयुक्त उपयोग गर्न जरूरी छ । जसरी समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूले जीवनमा सफलता प्राप्त गरेका छन्, त्यस्तै बालबालिकालाई विभिन्न क्षेत्रहरूमा संघर्ष गर्ने, सृजनात्मकता र उत्साहलाई समर्थन गर्न आवश्यकता छ । उनीहरूले जुनसुकै क्षेत्रको चयन गरे पनि, उनको सफलताको कुंजी भनेको आफ्ना क्षमतामा विश्वास र निरन्तर प्रयास गर्नु हो । यसर्थ अभिभावकले बालबालिकालाई घोंडाको झैं लगाउनु भएन । उनीहरूलाई अघि बढ्ने वातावरण सिर्जना गर्नुपर्छ ।
अहिले एसईई परीक्षा सञ्चालन भइरहेको छ । अधिकांश अभिभावकले बालबालिकालाई उच्च अंक ल्याउने गरी पढ्न दबाब दिएको पाइन्छ । अभिभावकको दबाबले पनि उनीहरूमा मानसिक चिन्ता बढ्ने गर्दछ । अभिभावकको दबाब बढ्दा भोलि भनेजस्तो नम्बर आएन भने उनीहरूमा मानसिक समस्या आउन सक्छ । एउटा कुशल र असल अभिभावक हुनका लागि धेरै कुरामा ध्यान दिनुपर्दछ । उनीहरुलाई हौसला र उत्प्रेरणा दिनुपर्छ । संस्कारयुक्त अनुशासित नागरिक बन्न उत्प्रेरित गर्नुपर्दछ । तीन–चार वटा विषयमा डिग्री हासिल गरेको छ तर उसमा अनुशासन र संस्कार छैन भने त्यसको अर्थ छैन ।
अन्त्यमा एसईई दिइरहेका सम्पूर्ण भाइबहिनीलाई सफलताको हार्दिक शुभकामना !
(लेखक अष्ट्रियाको पर्यटकीय सहर इन्स्ब्रुकमा विगत साढे दुई दशकदेखि पर्यटन व्यवसायसँगै समाजसेवामा आबद्ध हुनुहुन्छ ।)

तपाईको प्रतिक्रिया