नेपाल आइडल सिजन ६ को अडिसन इटहरीबाट सुरु हुने भएको छ । इटहरीमा चैत्र ८ गते विहिबार अडिसन हुने भनिएको छ । इटहरीको कस्तुरी कलेजमा बिहानै देखि अडिसन सुरु हुनेछ । इटहरीपछी पोखरामा चैत्र १२ गते र नेपालगंजमा चैत्र १६ गते आइडलको अडिसन हुनेछ । त्यसपछि काठमाडौँको अडिसन हुनेछ तर काठमाडौँ अडिसन डेट भने फाइनल भएको छैन । तर, चैत्र भित्र नै अडिसन हुने सम्भावना रहेको आइडलको प्रोडक्सन टिमले भनेका छन् । नेपाल आइडल सिजन ६ अघिल्ला सिजन भन्दा सभ्य र भव्य ढंगले गर्न लागिएको बताइएको छ । सिजन ६ लाई निर्देशन सुरेश पौडेल र एलीन श्रेष्ठले गर्नेछन् । अघिल्लो दुई सिजनको निर्देशन गरिसकेका सुरेश पौडेल प्रोजेक्ट हेडका रुपमा समेत यो सिजनमा हुनेछन् ।
आशिफ शाह एक्लैले होस्ट गर्ने सिजन ६ मा जजका रुपमा न्य्हू बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी नै दोहोरीएका छन् । यस पटकको अडिसनमा प्रतियोगीहरूलाई ब्याकअप ब्यान्डको साथ रहने व्यवस्था गरिएको छ, जसले उनीहरूको प्रस्तुतिलाई अझ उत्कृष्ट बनाउन सहयोग गर्ने जनाइएको छ । साथै, नेपाल आइडलका एक्स्ट्रा एपिसोडहरू पनि प्रसारण गरिने छन्, जसले दर्शकलाई पर्दा पछाडिका रोचक कथाहरू प्रस्तुत गर्नेछ ।