काठमाडौं । “मुक्तक मुहिम”को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा उक्त परिचर्चा कार्यक्रम सम्पन्न भएको हो । उक्त परिचर्चा कार्यक्रममा मुक्तक विधामा नयाँ प्रयोगको रुपमा मुक्तक मुहिम आएको भन्दै आगामी दिनमा यस्तो संकलन प्रयासको निरन्तरतामा सहभागीहरुले जोड दिएका थिए । नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले दुईवटा संस्थाहरु एउटै अभियानमा सामेल हुनु आफैंमा उदाहरणीय कुरा भएको बताए । श्रेष्ठले भने -‘पोखरा घोषणापत्र २०७० बाट मुक्तक नियमबद्ध भएको छ । त्यसले मुक्तकको सैद्धान्तिक बहसलाई केहीहदसम्म व्यवस्थापन गरेको छ । अब अभियान एउटै भएकोले मुक्तकसँग सम्बन्धित संस्थाहरु धेरै जरुरी छैन् ।’

‘हामीले दुई संस्थाको पहलमा मुक्तकमा कहिले पनि कलम नचलाएका र पहिले लेखेर हाल मुक्तक लेख्न छोडेकाहरुसहित मुक्तकमा जमेका स्रष्टाहरु समेतलाई लेखनमा सहभागी गराएका छौं ।’अध्यक्षको आसनबाट बोल्दै आयोजक संस्था नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले हामीले गाह्रो काममा हात हालेका छौं तर सफल भएका छौं भने । उनले अगाडि भने -‘नेपाल स्रष्टा समाजसँगकोे सहकार्यमा नेपाली निबन्धका चर्चित व्यक्ति उमेरले ९४ पुगेका तेजेश्वर बाबु ग्वँग समेतलाई मुक्तक लेखाउनु हाम्रो सफलता हो । उहाँजस्तै कहिल्यै मुक्तक विधामा कलम नचलाउनेहरुलाई पनि हामीले लेखाएका छौ । यसकार्यले हामी हौसिएका छौ ।’कार्यक्रममा सहभागी पवन आलोक,विधान आचार्य,सुनिल अधिकारी,निशा केसी,प्रतिक घिमिरे,विष्णु ब. सिंह,प्रदीप सापकोटा,प्रघुम्न जोशी,सितल कादम्बिनी,रुपा रिसाल,राजेन्द्र घिमिरे,तुलसीहरी कोइराला ,बादल घिमिरे,मदन नेपाल ,निर्मल पराजुली लगायत सबैले आ.आफ्नो धारणा राखेका थिए । मुक्तक प्रतिष्ठान नेपालका सदस्य राधेश्याम लेकालीले स्वागत मन्तब्य व्यक्त गरेको उक्त कार्यक्रम महासचिव यादव भट्टराईले सञ्चालन गरेका थिए ।
नेपाल मुक्तक प्रतिष्ठान र नेपाल स्रष्टासमाजको संयुक्त प्रकाशनमा प्रकाशित २२६ जना स्रष्टाहरुका मुक्तकहरु ‘मुक्तक मुहिम’मा समावेश गरिएका छन्

तपाईको प्रतिक्रिया