काठमाण्डू : फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रूपमा फागु पर्व मनाउने चलन छ ।हिरण्यकशिपुले बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रल्हादसहित पस्न लगाउँदा होलिका भष्म भएकी र भक्त प्रल्हाद भने सकुशल निस्केको प्रसंग पुराणहरूमा उल्लेख छ ।

शक्तिको दुरुपयोग गर्ने होलिका मारिएको भन्दै होलिकादहन अर्थात् चीरदाह गरेर आपसमा रंग, अबीर लगाएर खुसीयाली मनाएर होली खेल्ने परम्पराको सुरुवात भएको मानिन्छ ।

केही वर्षदेखि रंगको पर्व होली सभ्य बन्दै गएको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रंग र लोला हान्ने क्रम बन्द भएको छ । प्रहरीले होलीलाई सभ्य तरिकाले मनाउन आग्रह गरेको छ । होहल्ला नगरी, जाँडरक्सी तथा लागूपदार्थ नखाई एक आपसमा रमाएर होली मनाउन प्रहरीले अनुरोध छ ।

                                फागु  पूर्णिमा अर्थात्  होलीको शुभकामना

यस्तै होली मनाउँदा आफ्नो स्वास्थ्य, सम्भावित दुर्घटना र सामाजिक मर्यादाबारे पनि ख्याल गर्न विज्ञहरूले सुझाव दिएका छन् ।रंगले कतिपयको छाला, फोक्सो तथा आँखामा एलर्जी गर्ने भएकाले यसतर्फ सचेत हुन डाक्टरको सुझाव छ । होली पर्वको अवसरमा आज हिमाली र पहाडी भेगमा सार्वजनिक बिदा छ ।

तराई, मधेशमा भने भोलि होली पर्व मनाउने परम्परा रहेको छ ।

तपाईको प्रतिक्रिया