विराटनगर, २८ फागुन । कोशी प्रदेशमा एसइइ परीक्षाका लागि सम्पूर्ण तयारी पुरा भएको कोशी प्रदेशका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
चैत ७ गतेदेखि १९ गतेसम्म हुने सो परीक्षाका लागि कोशी प्रदेशमा कुल ८० हजार ९३४ विद्यार्थीहरु सहभागी हुने आज आयोजित पत्रकार सम्मेलनमा कोशी प्रदेश शिक्षा निर्देशनालयका निर्देशक कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार साधारण धारतर्फ नियमित ६९ हजार ५०६, ग्रेडवृद्धि आठ हजार ४५१, प्राविधिक धारतर्फ नियमित दुई हजार ७११ ग्रेडवृद्धि २६६ र खुल्ला परीक्षार्थीतर्फ नियमित ३९६ तथा ग्रेडवृद्धि ३० छन् ।
कुल ३७१ केन्द्र लागि ३७१ केन्द्राध्यक्ष, ५४६ सहायक केन्द्राध्यक्ष, चार हजार ४५ निरीक्षक, ८०९ परीक्षा सहायक , एक हजार ६१३ सहयोगी र पाँच हजार ५६५ सुरक्षाकर्मी गरी १२ हजार ९४९ जनशक्ति परिचालन हुने निर्देशक पोखरेलले जानकारी दिनुभयो ।
परीक्षार्थीहरुमा सबै भन्दा बढी मोरङबाट १८ हजार १०७, झापाबाट १७ हजार २८ र सुनसरीबाट १३ हजार ५८३ विद्यार्थी छन् भने सबै भन्दा कम तेह्रथुमबाट एक हजार १९०, ताप्लेजुङबाट दुई हजार २७२, पाँचथरबाट दुई हजार ८०६, सोलुखुम्बुबाट एक हजार ६६०, ओखलढुङ्गाबाट दुई हजार २२०, भोजपुरबाट दुई हजार ४९२ छन् ।
यसैगरी इलामबाट चार हजार २३१, संखुवासभाबाट तीन हजार १२०, धनकुटाबाट दुई हजार ५३५, खोटाङबाट तीन हजार ८०९ र उदयपुरबाट पाँच हजार ८८१ जना विद्यार्थीले एसइइ परीक्षामा आफ्ना उपस्थिति जनाउने बताइएको छ । यसपटकको एसइइ परीक्षामा अपाङ्गताको प्रकृति हेर्दा निर्धारित समयभित्र परीक्षा दिन नसक्ने भएमा शिक्षा विकास तथा समन्वय इकाइको सिफारिशमा केन्द्राध्यक्षले बढीमा एक घण्टा ३० मिनेट समय थप गर्ने व्यवस्था मिलाइएको सामाजिक विकास मन्त्रालयका सचिव हेमराज तामाङले जानकारी दिनुभयो ।
सामाजिक विकास मन्त्री पाँचकर्ण राईले परीक्षालाई व्यवस्थित, मर्यादित एवं अनुशासित बनाउने भन्दै परीक्षार्थीलाई शान्त वातावरण बनाउने र निरीक्षण एवं अनुगमन प्रक्रियालाई व्यवस्थित बनाउने योजना रहेको बताउनुभयो ।