पोखरा महानगरपालिकाले फोहोर पानी व्यवस्थापनसम्बन्धी गुरुयोजना तयार पारेको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), याचियो इन्जिनियरिङ कम्पनी लिमिटेड, निहोन सुइडो कम्पनी लिमिटेड, एनजेएस कम्पनी लिमिटेड जापानको प्राविधिक सहयोगमा महानगरले गुरुयोजना बनाएको हो ।
महानगरका चार वटा क्षेत्रमा प्रशोधन केन्द्र निर्माण गरी फोहोर पानी प्रशोधनमार्फत पुनः प्रयोगका लागि योग्य बनाएर नदी तथा तालमा छोडिने गुरुयोजनामा उल्लेख छ । जसअनुसार महानगरको पश्चिम क्षेत्र, मुख्य शहरी भाग, हेमजा क्षेत्र र पूर्वी भागमा फोहोर पानी प्रशोधन केन्द्र स्थापना गरिनेछ । यी केन्द्रमार्फत प्रतिदिन एक लाख ३४ हजार घनमिटर पानी प्रशोधन हुने महानगरको अनुमान छ ।
गुरुयोजनाअनुसार पानी प्रशोधन क्षेत्रका लागि पाइपलाइन योजना विकास र सबै प्रणालीमा छुट्टाछुट्टै ढल प्रयोग हुनेछ । त्यस्तै, दुर्गम भूभागमा पानी सङ्कलनका लागि विभिन्न स्थानमा पम्प स्टेसन र म्यानहोल पम्प जडान गर्ने योजना रहेको नगर प्रमुख धनराज आचार्यले बताए ।
झण्डै ११ अर्ब रुपैयाँ लागतको उक्त परियोजनाअनुरुप फोहोर पानीको प्रशोधन केन्द्र सञ्चालन गर्दा वातावरणीय स्वच्छता प्रवर्द्धनमा सहयोग पुग्ने उनको विश्वास छ ।
‘अब हामीले आकाशबाट पर्ने पानी, भान्साबाट निस्कने पानी, बाथरुमबाट निस्कने पानीलगायत ढलमा मिसाइएका कुनै पनि चिजलाई यत्तिकै छोड्न मिल्दैन,’ मेयर आचार्यले भने, ‘यसले वातावरण प्रदूषण भइरहेको छ । त्यसैले, पोखराका चार स्थानमा पोइन्ट निर्धारण गरी जाइकाले यसमा सहयोग गर्ने भएको हो । जानेर वा नजानेर हाम्रा ढलहरु सिधै खोलामा मिसिने गरेका छन् । अब भने फोहोर पानीलाई प्रशोधन गरेर मात्र खोलामा मिसाइनेछ ।’
दिगो विकासको लक्ष्यअनुसार सन् २०३० सम्म सबै सहरमा व्यवस्थित ढल निकासको व्यवस्थापन गर्नुपर्ने छ । यो लक्ष्य पूरा गर्नका लागि पनि गुरुयोजना पोखराका लागि महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।