ढाका । बंगलादेश । बंगलादेश-नेपाल बिच साहित्य आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
ढाकास्थित नेपाली दुताबास तथा बंगलादेश -नेपाल फ्रेण्डशिप सोसाइटीको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
बंगलादेशका सांस्कृतिक (मन्त्री) मुस्तफा सरवार फारोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । आफ्नो मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथिले दुई देशबीचको सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यले सार्वजनिक कूटनीतिको दूतावासको प्रयासको प्रशंसा गरे। उनले नेपाल-बंगलादेश मित्रताको मूलमा रहेको बलियो भाषिक, साहित्यिक र सांस्कृतिक समानताहरूमा पनि प्रकाश पारे।

कार्यक्रममा बोल्दै राजदूत श्री घनश्याम भण्डारीले नेपाल र बंगलादेशबीचको सांस्कृतिक सम्बन्धलाई प्रकाश पार्दै जनता-जनताबीचको सम्पर्कलाई अझ सुदृढ पार्न साहित्यिक आदानप्रदानको महत्त्वमा जोड दिए। उनले विद्यार्थीहरूको कलाकृतिको पनि प्रशंसा गरे ।उनीहरूको रचनात्मक कृतिहरूले अन्तर-सांस्कृतिक समझदारीलाई बढावा दिन र दुई देशविचका सम्बन्ध जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

नेपाल स्रस्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले ‘वर्तमान नेपाली साहित्य र संस्कृति’ विषयमा कार्यपत्र प्रस्तुत गरे ।
यसैगरी बंगला एकेडेमीका मुजफ्फर हुसेनले ‘बंगलादेशको साहित्य: संघर्ष र रचनात्मकताको प्रतीक’ विषयमा कार्यपत्र प्रस्तुत गरे।
नेपालका तर्फबाट नेपाल स्रस्टा समाजका संरक्षक पवन आलोक ,जयदेव भटटराई, प्रधुम्न जोशी र प्रदीप सापकोटा तथा बंगलादेशका तर्फबाट सलिम सुलेरी र उस्मान गोनीले आफ्ना सिर्जनाहरु सुनाए ।
यस अघि बंगलादेश – नेपाल फ्रेण्ड्शिप सोसाइटीका अध्यक्ष लायन मोशिउर अहमद हुसैनले द्विपक्षीय सम्बन्धलाई अझ प्रवर्द्धन गर्न विद्यार्थी र साहित्यिक विद्वानहरूलाई संलग्न गराउनुको महत्त्वमा जोड दिदै स्वागत मन्तव्य व्यक्त गरे ।
यसै कार्यक्रममा चित्रकला प्रतियोगिताबाट छनोट गरिएका बीस कलाकृतिहरू समावेश गर्ने विशेष प्रकाशनको बिमोचन गरियो।

दुताबास तथा बंगलादेश – नेपाल फ्रेन्डशिप सोसाइटीद्वारा २४ जनवरी २०२५ मा ‘नेपाल मेरो आँखाबाट’ भन्ने विषयवस्तु अन्तर्गत आयोजित बिभिन्न उमेर समुहका बिध्यालयहरुका बालबालिका विच सम्पन्न ‘चित्रकला प्रतियोगिता-२०२५’ का विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रमुख अतिथि, महामहिम राजदुत लगायतले वितरण गरे ।
फागुन १३ गते भएको उक्त कार्यक्रमको सन्चालन योजना बमजनले गरेकी थिइन ।

तपाईको प्रतिक्रिया