विराटनगर : प्रथम कोशी खेलकुद महोत्सव – २०८१ को तयारी पूरा भएको छ। कोशी प्रदेश खेलकुद विकास बोर्डले आज पत्रकार सम्मेलन गर्दै फागुन १३ गते देखि १८ गते सम्म संचालन हुने खेल महोत्सवको तयारी पूरा भएको जानकारी गराएको हो।
आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) ले बोर्डको २६ औं बैठकको निर्णय अनुसार बोर्डको वार्षिक कार्यक्रममा रहेको विभिन्न खेलका प्रतियोगिताहरु सम्मलित खेलकुद महोत्सवको सम्पूर्ण तयारी सम्पन्न भएको बताउनु भएको छ। बस्नेतले महोत्सवमा कोशी प्रदेशका १४ वटै जिल्लाका खेलाडीको सहभागिता हुने बताउँदै महोत्सव आयोजना गर्न झन्डै १ करोड ७८ लाख खर्च हुने अनुमान बोर्डले गरेको जानकारी दिनु भयो।
उहाँले नियमित खेलकुद प्रतियोगिताले खेलाडीको प्रतिभामा निखार ल्याउने बताउँदै ‘खेल गतिनै खेलाडीको प्रगति’ हो भन्ने मान्यता साथ बोर्डले गतिविधि गर्दै आएको धारणा समेत व्यक्त गर्नु भयो।
पत्रकार सम्मेलनमा बोल्दै कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईले कोशी प्रदेशमा नियमित खेल गतिविधि हुँदा यस्ता गतिविधिले कोशी प्रदेशलाई १० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा अधिक पदक जित्न सहयोग पुग्ने बताउनु भयो। राईले नियमित खेलकुद प्रतियोगिताले खेलाडीको जीवन निर्वाहमा समेत महत्वपूर्ण भूमिका खेल्ने भन्दै खेलाडीले खेलेरै जीवनयापन गर्न सक्ने अवस्था सिर्जना गर्न सबैपक्ष लाग्नु पर्ने धारणा व्यक्त गर्नु भयो।
महोत्सवमा प्रदेशस्तरीय महिला फुटबल , महिला तथा पुरुष दौड , महिला तथा पुरुष कब्बड्डी , भेट्रान बाघचाल , महिला तथा पुरुष टेबलटेनिस , महिला तथा पुरुष बुद्धिचाल , महिला तथा पुरुष कराते , महिला तथा पुरुष तेक्वान्दो र पुरुष सफ्टटेनिस र डोरीतान लगायतको खेलकुद प्रतियोगिता समावेश छन्।