विराटनगर । वैज्ञानिक डा. बिष्णु रायमाझीले एभरेष्ट एजुकेशन एक्जिबिसन बालबालिकाको भविष्यको आकार बनाउने माध्यम हुने बताउनुभएको छ ।
आज विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले आयोजना गरेको दुई दिवसीय ‘एभरेष्ट एजुकेशन एक्जिबिसन–२०८१’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै वैज्ञानिक डा. रायमाझीले यस्तै एक्जिबिसनले बालबालिकालाई अन्वेषणमा लाग्न प्रेरित गर्ने बताउनुभयो ।
यस्ता एक्जिबिसनले बालबालिकालाई सिक्ने सिकाउने कुरामा धेरै अभिप्रेरणा हुने भन्दै, उहाँले त्यसकै परिणामस्वरुप सफल ब्यक्ति बन्न सघाउ पुग्ने धारणा ब्यक्त गर्नुभयो । आफू सामान्य विद्यालयबाट अध्ययन गर्दै पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न अमेरिका पुगेको स्मरण गर्दै आफ्नो रुचि अनुसारको विभिन्न अन्वेषणमा सक्रियता पूर्वक सहभागिता जनाएको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘ मेरो रुचि अनुसार अमेरिकामा पुगेर पनि विभिन्न वरिष्ठ वैज्ञानिकहरूसँग सहकार्य गर्ने अवसर जुर्यो र त्यसको परिणाम स्वरुप हामीले अल्जाइमर रोगको अन्वेषण गरियो । कोभिड १९ को भ्याक्सिन तथा ट्याब्लेट बनाइयो । अहिले किशोरीहरुलाई लगाइरहेको भ्याक्सिन एचपीभी अन्वेषणमा पनि हाम्रो भूमिका रह्यो ।’
यसको अर्थ बालबालिकाको रुचि अनुसारको उनीहरुको ‘इनोभेटिभ’ कुरा वा ‘क्रिटिकल थिङकिङ’लाई अभिभावकले नजिकबाट बुझेर प्रोत्साहन गर्न सक्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता देखाउन सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘त्यो वातावरण एभरेष्ट एजुकेशन एक्जिबिसन जस्ता कार्यक्रमले प्रदान गर्छ ।’
कार्यक्रममा विद्यालयका अध्यक्ष विनोद ढकालले एभरेष्टका बालबालिकाले आफ्नो सिकाइलाई व्यवहारत लागु गर्न सकुन् भनेर हरेक वर्ष यस्ता कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले एभरेष्ट स्कुलले उत्कृष्ट शिक्षण थलोको रुपमा आफूलाई स्थापित गर्न प्रयत्नशील रहेको समेत बताउनुभयो ।
विद्यालयका प्राचार्य टिकाराम पुरीले विराटनगरमै विश्वस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य लिएर आफूहरु अघि बढेको भन्दै त्यसको परिणाम क्रमशः आइरहेको चर्चा गर्नुभयो । उहाँले अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा एभरेष्टका विद्यार्थीहरुले हरेक क्षेत्रमा लिएको अग्रणी जिम्मेवारीले आफूहरुलाई गर्व लाग्ने बताउनुभयो ।
उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले हरेक क्षेत्रमा उत्तिकै लगानी गरिरहेको चर्चा गर्दै विद्यालयको मेहनतलाई अभिभावक र शिक्षक कर्मचारीहरुले समेत उसैगरी बुझि दिएकोमा धन्यवाद समेत ब्यक्त गर्नुभयो । उहाँले दुई दिवसीय एक्जिबिसनले बालबालिकाले आफूले कक्षा कोठामा सिकेको सिकाइलाई ब्यवहारिक रुपमा प्रदर्शन गने, अभिभावक र शिक्षक शिक्षिकाले आफ्ना बालबालिकाको क्षमतालाई नजिकबाट बुझ्ने अवसर प्रदान गर्ने बताउनुभयो ।
उहाँले एभरेष्ट स्कुलले हरेक वर्ष यस्ता कार्यक्रम गर्दै आएको भन्दै विद्यार्थीको सर्वाङ्गीण विकासका निम्ति कुनै कसर नराख्ने समेत बताउनुभयो । बालबालिकाका प्रतिभा देखाउने एक्जिबिसनको उद्घाटन समारोहमा अन्तर्राष्ट्रिय स्तरमा छवि बनाउन सफल बैज्ञानिक त्यो पनि कोशी प्रदेशकै ब्यक्तिलाई प्रमुख अतिथि बनाउन पाएको गर्व लागेको समेत बताउनुभयो ।
आज र भोली दुई दिन सम्म चल्ने एक्जिबिसनमा २५ सय विद्यार्थीले आफूहरुले सिकेका पाठ्यक्रम अनुसारका परियोजनाहरुको प्रदर्शनी गर्दैछन् । जस अन्तर्गत पहिलो दिन आज यू.के.जी.देखि कक्षा ५ सम्मका विद्यार्थीहरुको परियोजना प्रदर्शनी गरेका छन् । भोली अर्थात मंगलबार कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुको परियोजना प्रदर्शनी हुने विद्यालयका सह प्राचार्य कुन्दन पुरीले बताउनुभयो ।
‘ज्ञान सीप र रचनात्मकतासँग भविष्यको आकार’ भन्ने नाराका साथ आयोजना गरिएको एक्जिबिसनमा विद्यार्थीहरुले विज्ञान, कम्प्यूटर विज्ञान, कला कौशल, र अन्य विभिन्न रोचक तथा ज्ञान मूलक विषयवस्तुहरूको प्रदर्शनी गरिरहेको एभरेष्ट कलेजका सहायक क्याम्पस प्रमुख टी एन भण्डारीले बताउनुभयो ।