विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले आयोजना गर्न लागेको दुई दिवसीय ‘एभरेष्ट एजुकेशन एक्जिबिसन–२०८१’ को उद्घाटन वैज्ञानिक डा. विष्णु रायमाझीले गर्ने हुनुभएको छ ।
फागुन ५ र ६ गते हुने एक्जिबिसनको वरिष्ठ बैज्ञानिक रायमाझीले उद्घाटन गर्ने एभरेष्ट स्कुलका प्राचार्य टिकाराम पुरीले बताउनुभयो । उहाँले उद्घाटनसँगै विद्यार्थीहरुको लागि उत्प्रेरक भनाई समेत राख्ने विद्यालयले जनाएको छ ।
एभरेष्ट स्कुलले हरेक वर्ष विभिन्न कृयाकलाप गर्दै आएको छ । यस अघि कार्निभल गरेको एभरेष्टले यस वर्ष भने एभरेष्ट एजुकेशन एक्जिबिसनका नाममा कार्यक्रम गर्न लागेको हो ।
विद्यार्थीहरूको शैक्षिक र सृजनात्मक विकास गर्ने तथा पाठ्यक्रमद्वारा निर्दिष्ट गरिएका प्रयोगात्मक र जीवनोपयोगी शैक्षिक उपलब्धिहरूसँग विद्यार्थीहरूलाई जोड्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको प्राचार्य पुरीले बताउनुभएको छ ।
‘ज्ञान सीप र रचनात्मकतासँग भविष्यको आकार’ भन्ने नाराका साथ आयोजना गर्न लागेको एक्जिबिसनमा विद्यार्थीहरुले विज्ञान, कम्प्यूटर विज्ञान, कला कौशल, र अन्य विभिन्न रोचक तथा ज्ञान मूलक विषयवस्तुहरूको प्रदर्शनी गर्ने विद्यालयले जनाएको छ ।
विद्यार्थीले आफूले सिकेको कुरा व्यवहारत देखाउने कार्यक्रम भएकाले विद्यालयले अभिभावक, शिक्षा प्रेमी महानुभाव र सञ्चारकर्मीहरुलाई समेत प्रदर्शनीको अवलोकन गर्न आह्वान गरेको छ । एभरेष्ट कलेज परिसरमा हुने एक्जिबिसनमा यु.के.जी देखि कक्षा १२ सम्मका २५ सय बालबालिकाले विभिन्न विषयमा आफूहरुले सिकेका कुराहरुको परियोजनाहरुको प्रदर्शन गर्ने छन् ।
यु.के.जी देखि कक्षा ५ सम्मका विद्यार्थीहरुको प्रदर्शनी फागुन ५ गते र कक्षा ६ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुको प्रदर्शनी फागुन ६ गते बिहान ११ देखि ३ बजेसम्म हुनेछ ।