जनप्रतिनिधिहरू पछिल्लो समय जनताको सेवक नभई शासक बन्न थालेको गुनासो बढिरहेको छ । उनीहरू जनताका समस्या नसुनी सेवक कम र शासक बढी भएको भन्ने गुनासो धेरै ठाउँमा सुनिन्छ । तर, विराटनगर महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष राम पोख्रेल अपवादजस्तै बनेका छन् । उनी जनतासँगै जोडिएका छन् । भौतिक विकासलाई मात्रै उनी विकास मान्दैनन्, सबैभन्दा ठूलो सामाजिक विकास भएको उनको तर्क छ ।
जनतालाई स्थानीय सरकार, घरको सरकार हो भन्ने अनुभूति दिनुपर्ने उनी बताउँछन् । २०७९ मा निर्वाचित भएपछि उनले शुरूमै ज्येष्ठ नागरिकहरूका लागि कार्यक्रम ल्याए । ‘दन्त मुस्कान’ नाम दिएर उनले वडाका ४ ठाउँमा स्वास्थ्य शिविर गरे । जीवन विकास सामुदायिक अस्पतालसँग सहकार्य गरेर ४ ठाउँमा शिविर गरेको उनले बताए । शिविरमा ८३ जनाको ४ वटासम्म दाँत र ११ जनाको फुलसेट दाँत लगाइदिएको उनले बताए ।
त्यसपछि उनले आफ्नो वडामा भएका बुवा आमाको अवस्था बुझ्ने काम गरे । ‘नेपाल सरकारले दिँदै आएको सेवा सुविधाबारे थाहा छ कि छैन ? घरपरिवारले कसरी राखेका छन् भनेर हामीले ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक आमा बुवाको घरदैलो कार्यक्रम शुरू गरेका थियौं,’ उनले भने, ‘मेरो वडाका १२३ घरमा गएर एउटा टर्चलाइट, स्टिलको छडी, जुस, एक प्याकेट हर्लिक्स र फलफूल दियौं ।’
ज्येष्ठ नागरिकको घरमा जाँदा स्वास्थ्यकर्मीलाई पनि सँगै लिएर गएको उनले सुनाए । सुगर र प्रेसरको जाँच गरेर सरकारले निःशुल्क दिएका औषधिबारे जानकारी गराइएको उनले बताए । ‘उहाँहरूले खाने केही औषधि हाम्रै स्वास्थ्य कार्यालयमा पनि पाउँदो रहेछ,’ उनले भने, ‘त्यो पनि उहाँहरूलाई जानकारी गरायौं । अहिले निःशुल्क पाउने औषधि हाम्रै वडाको स्वास्थ्य कार्यालयबाट लिनुहुन्छ ।’
वडावासीका मृत्यु भएपछि अन्तिम दाहसंस्कारका लागि महानगरपालिकाको सहकार्यमा घरदेखि घाटमा लैजाने अभियान थालेको उनले बताए । आर्थिक अवस्था कमजोर भएका कारण कसैले शव जलाउन सकेन भने दाउरा वडाले दिने गरेको उनले बताए । मलामीहरूका लागि खानेपानीसमेत वडाले दिने गरेको उनी बताउँछन् ।
कसैले क्रिया गर्न नसके त्यसको व्यवस्थापन पनि वडा कार्यालयले नै गरिदिने गरेको छ । ‘मधेशी समुदायमा भोज गर्ने परम्परा छ । वडाको तर्फबाट दाल, चामल, तेल, सब्जी, पिठोलगायत खाद्यान्न प्याकेज बनाएर दिन्छौं । कसैले विवाह गर्न सक्दैनौं भन्यो भने चाहिँ पैसा उठाएर सामान्य विवाह गर्ने खालको व्यवस्थापन गरिरहेका छौ,’ उनले भने ।
मुस्लिम समुदायका लागि अन्तिम सँस्कारमा मान्छे बोकेर लैजाने ताबुत वडा कार्यालयले किनेर दिएको छ । हिन्दं सँस्कारका लागि गणेश मन्दिर र अमर सेवा समितिमा हिन्दू सँस्कारमा चाहिने भाडाकुँडाको सेट र कुर्सीलगायतका सामग्री दिएको उनले बताए । क्रिश्चियन धर्मावलम्बीहरूलाई पनि भाँडाकुँडा, साउन्ड सिस्टम र त्रिपाल दिएको उनले बताए ।
पूर्वसामाजिक विकासमन्त्री जीवन घिमिरेका स्वकीय सचिव भएका काम गरेको अनुभव उनीसँग छ। मन्त्री घिमिरेको सचिवालयमा बस्दा कोभिडको समयमा गरेको कामको आत्मबलले सामाजिक विकासलाई जोड दिएको उनले बताए ।
‘विवाह, व्रतबन्ध तथा अन्य शुभ कार्यमा बोलाउँदा भ्याइएन भने म जाँदिन,’ उनले भने, ‘अनिवार्य जानुपर्छ भन्ने धारणा छैन । मान्छेलाई गाह्रो भयो भने राति पनि अस्पताल जान्छु । घाटमा मलाई देखेनन् भने अचम्म मान्छन् । खबर भएन भनेर फोन गरिहाल्छन् ।’
स्थानीय सरकार भनेको दुःख पर्दाको घर आँगनको सरकार भएकाले जनतालाई साथ दिनुपर्ने उनी बताउँछन् ।
पछिल्लो समय बुवा आमालाई घरमा छाडेर सबै छोराछोरी विदेशतिर गइरहेकाले छोराछोरी आउनुभन्दा अगाडि अभिभावकत्व वडाले गर्नुपर्छ भन्ने मानसिकताको विकास गराउनुपर्ने उनी बताउँछन् । ‘हामीले विदेश जानेलाई रोक्न सक्ने अवस्था छैन । तर, यहाँ बसेका ज्येष्ठ नागरिकको हेरचाह भने घर आँगनमै भेट हुने वडाका जनप्रतिनिधि गर्नुपर्छ,’ उनले भने ।
भौतिक पूर्वाधारको क्षेत्रमा जो आए पनि काम नरोकिने उनले बताए । तीनवटै सरकारको सहकार्यमा आफ्नो वडामा २ वर्षमा साढे ५ किलो मिटरभन्दा बढी कालोपत्रे गरिएको उनले बताए । यसवर्ष ३ किलो मिटरभन्दा बढी कालोपत्रे गर्ने उनको भनाइ छ । नाला बनाउने काम पनि भइरहेका उनले बताए । डुबानलाई कम गर्न नालालाई प्राथमिकता दिएको पोख्रेलले बताए ।‘विकास निर्माणका काम म नहुँदा पनि हुन्छन्,’ उनले भने, ‘अहिलेको आवश्यकता भनेको सामाजिक विकास पनि हो । सामाजिक विकास चाहिँ व्यक्तिमा भर पर्छ ।’ अपाङ्गता भएकाको घरका ५ जना सदस्यहरूको स्वास्थ्य बीमासमेत वडाले नै गर्ने गरेको उनले बताए ।
प्रत्येक महिनाको पहिलो सोमबार विराट आँखा अस्पतालको सहकार्यमा निःशुल्क आँखा चेकजाँच र उपलब्ध हुने औषधि दिइने गरेको उनले बताए । ‘निःशुल्क आँखा जाँचबाहेक पहिलो र अन्तिम बिहीबार विराटनगरकै विराट नर्सिङ होमको सहकार्यमा गाइनोसम्बन्धी रोगको उपचार गराउने गरिएको छ । सुत्केरी भेट भन्ने कार्यक्रमसमेत वडामा चलिरहेको छ,’ उनले भने, ‘यो कार्यक्रमअन्तर्गत नियमित वडामै रहेको स्वास्थ्य चौकीमा गएर चेक गराउने महिलाहरूलाई सुत्केरी भएपछि पोसिलो खानेकुरा एक सेट, आमा र बच्चालाई कपडा स्याम्पु, साबुन दिने गरिएको छ । बच्चाहरूको स्वास्थ्य परीक्षण वडा कार्यालयमा हुन्छ ।’
वडामा ४ वटा सामुदायिक विद्यालयसमेत छन् । यी विद्यालयमा विद्यार्थीहरूका लागि योग शिविरसमेत वडाले नै गराउने गरेको उनले जानकारी दिए ।