विराटनगर ÷ विराटनगर महानगरपालिकाको आयोजनामा अनलाइन नागरिकता सिफारिससम्बन्धी दुईदिने अभिमुखीकरण सुरु भएको छ । अभिमुखीकरण कार्यक्रमको महानगरकी उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गर्नुभयो । दुईदिने अभिमुखीकरणमा महानगरका १९ वटै वडाका सचिव र सिफारिस हेर्ने कर्मचारी सहभागी छन् । पहिलो दिन बुधबार १, २, ३, ४, ५, ६, १०, १४, १७ र १८ नम्बरका वडासचिव र सिफारिस हेर्ने कर्मचारीलाई तालिममा सहभागी गराइएको छ । उनीहरुलाई अनलाइन डाटा इन्ट्री, वडामा डाटा इन्ट्री गरिसकेपछि जिल्ला प्रशासन कार्यालय पठाउने तरिका, नयाँ नागरिकताका लागि अनलाइन सिफारिस, सिफारिस गर्नुभन्दा अगाडि आवश्यक पर्ने कागजातलाई स्क्यान गर्ने तरिकालगायतका विषयमा जानकारी गराइनेछ । कार्यक्रममा उपमेयर कार्कीले नागरिकताको अनलाइन सिफारिसले जिल्ला प्रशासन कार्यालयमा हुने ढिलासुस्ती र झन्झट कम हुने बताउनुभयो । सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयमा घण्टौं लाइनमा बस्नुपर्ने झन्झट समाप्त हुने उहाँको भनाइ थियो । उहाँले अब कुनै कारणले नागरिकता हराए वा नष्ट भएमा त्यसको विवरण सहजै पाउन सकिने उल्लेख गर्नुभयो । सिफारिस गर्दा कर्मचारीलाई समस्या नहोस् भनेर महानगरले तालिम सञ्चालन गरेको उपमेयर कार्कीले जानकारी दिनुभयो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले कम्प्युटर चलाउन जान्नेले नागरिकताको अनलाइन सिफारिस सहजै गर्न सक्ने बताउनुभयो । ढुंगेलले सरकारी सेवालाई प्रविधिमैत्री बनाउने लग्ने सरकारको नीतिअनुसार नागरिकताको अनलाइन सिफारिस सुरु भएको उल्लेख गर्नुभयो । तालिमपछि नागरिकता अनलाइन सिफारिस गर्दा समस्या नआउने उहाँको भनाइ थियो । दुईदिनसम्म सञ्चालन हुने तालिममा बिहीबार वडा नम्बर ७, ८, ९, ११, १२, १३, १५, १६ र १९ का वडासचिव र सिफारिस हेर्ने कर्मचारीलाई सहभागी गराइने निमित्त प्रमुख प्रशासकीय अधिकृत ढुंगेलले जानकारी दिनुभयो । महानगरपालिकाकी आइटी शाखाकी अर्चना कर्ण र जिल्ला प्रशासन कार्यालयका कर्मचारीले तालिममा सहजीकरण गर्नुभएको छ ।
नागरिकताको अनलाइन सिफारिस गत आइतबार मेयर नागेश कोइरालाले वडा नम्बर ९ बाट शुभारम्भ गर्नुभएको थियो । मोरङका १७ स्थानीय तहका १५९ वटै वडाबाट अनलाइन नागरिकता सिफारिस सुरु भइसकेको छ । यो सेवाले नागरिकता छिटोछरितो प्राप्त गर्नुका साथै आवश्यक परेका बेला तत्काल रेकर्ड फेला पार्न सहज हुनेछ । यस प्रणालीमा प्रिन्ट गरिएको अनुसूची सिफारिसलाई विस्थापन गर्दै अनलाइन माध्यमबाट नागरिकताको सिफारिस पठाउने सुविधा हुन्छ । नागरिकताका लागि आवश्यक विवरण र कागजात वडा कार्यालयले यस प्रणालीमा प्रविष्ट गरी पूर्ण विवरणसहित अनुसूचीको प्रिन्टमा वडाध्यक्षले हस्ताक्षर गरेर सेवाग्राहीलाई दिन्छ । उक्त अनुसूची लिएर जिल्ला प्रशासन कार्यालयमा सनाखत गरेपछि तत्काल सेवाग्राहीले नागरिकता पाउँछन् ।
‘सीसीआईएमएस सफ्टवेयर’को प्रयोगबाट सिफारिस गर्दा यसअघि वडा कार्यालयले अनुसूची सिफारिस गर्ने प्रक्रिया सकिनेछ । नागरिकता लिने सेवाग्राही वडामा पुगेपछि यसअगाडि जिल्ला प्रशासनले गर्ने कार्य वडाले नै सक्नेछ । यसअगाडि वडाले अनुसूची फारम भरेर पठाएको कागजात प्रशासनले प्रमाणीकरण गरी सम्बन्धित व्यक्तिको सनाखत गराएपछि सफ्टवेयरमा ‘इन्ट्री’ हुन्थ्यो । यो विवरण इन्ट्री अब वडाले नै सफ्टवेयरमा गरिसक्नेछ । ‘सीसीआईएमएस’ प्रणालीको यूजर आइडी वडाका सचिवसँग रहनेछ ।