झापा, माघ १३ । सामाजिक कार्यकर्ता रुपा राजवंशी राजवंशी समाज विकास समितिकी अगुवा कार्यकर्ता हुन् । जातीय संस्कृति र चिनारीलाई प्रवर्धन गर्न राजवंशी समाज विकास समिति मार्फत उनी क्रियाशील छिन् । बिर्तामोड – ५ निवासी रुपा संगठनकी वडा संयोजक पनि हुन् । आफ्नो जातिको संस्कृति र मौलिक चिनारी लिएर उनी यतिवेला बिर्तामोडमा जारी अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा व्यस्त छिन् ।
तराईमा लोकप्रिय खाजा भक्काको स्टल लिएर महोत्सवमा सहभागी उनले आफ्नो संस्थाको व्यानरलाई समेत चिनाउने प्रयत्न गरेकी छिन् । महोत्सवमा आएका अवलोकनकर्ता र ग्राहकलाई भक्का, वैगुन चप र चिया बेचीरहेकी उनले हामीसंगको भेटमा भनिन् –‘यो हाम्रो मौलिक चिनारी हो । त्यही भएर राजवंशी समाज विकास समितिको व्यानर राखेका हौं ।’
अर्जुनधारा १० सालवारीकी स्वेता चौधरी घुँगी, भक्का र बगिना बेच्दै यो महोत्सवमा थारु कल्याणकारिणी सभालाई परिचित गराई रहेकी छिन् । मौलिक संस्कृति र चिनारीलाई प्रवर्धन गर्न यस प्रकारका मेला महोत्सवले मद्दत पु¥याएको उनको बुझाई छ ।
मेलामा सहभागीले घुँगी र बगिना अधिक रुचाएको स्वेताको भनाई छ । ग्राहक र उपभोक्ताले चिसो मौसममा यो परिकारको बढी माग गर्ने गरेको बताइन्छ । उपभोक्ताहरुले माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा नेवारी र लिम्बू परिकारका खाद्य सामग्री पनि स्वाद मानेर खाइरहेका छन् ।
उता मेचे सिवियारी आफातले आइतवार दिनभर मुख्य मञ्चबाट आफ्नो मौलिक सांस्कृतिक प्रस्तुति पस्किएको छ । मेचे जाति झापाको पूर्वी भेगमा बसोवास गर्दै आएको नेपालको लोपोन्मुख जाती हो । पछिल्लो राष्ट्रिय जनगणना अनुसार उनीहरुकोे कूल संख्या ५ हजार एक सय ९३ छ ।
विभिन्न जातजातिका अगुवाहरुले महोत्सव भित्र व्यवसयिक स्टलमार्फत मौलिक गरगहना र अन्य उत्पादनका सामग्रीहरुलाई बेचबिखनका लागि सजाएर राखेका छन् । महोत्सवको आयोजक बिर्तामोड उद्योग वाणिज्य संघले आदिवासी जनजातिहरुलाई १० वटा स्टल निःशुल्क उपलब्ध गराएको अध्यक्ष राजु न्यौपानेले बताएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघको समन्वयमा उनीहरुले महोत्सव अवधिभर आ– आफ्ना कला र संस्कृतिहरु समेटिएका सांङ्गीतिक कोसेली राख्दै आएको बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य दिनेश श्रेष्ठले जानकारी दिएका छन् । उनलाई महोत्सवको आदिवासी जनजाति संस्कृति संयोजकको जिम्वेवारी समेत दिइएको छ ।
गत माघ ८ गतेदेखि शुरु भएको महोत्सवमा साना ठूला सवारी साधन,पाकिस्तानी छालाका सामग्री, पूर्वी पहाडका कृषि जन्य उपज, स्थानीय सहकारी र महिला समूहका घरेलु उत्पादनदेखि जुम्लाको मार्सी, र डोल्पाको भीरमाहुरीको मह समेतले ग्राहकलाई आर्कषित बनाएको छ ।

तपाईको प्रतिक्रिया