विराटनगर ८ माघ । नेकपा एमाले कोशी प्रदेश सहरी विकास विभागले प्रदेशको सहरी विकासका लागि विराटनगरबाट अभियानको शुरुवात गरेको छ ।
विभागले आज विराटनगरमा महानगरीय अवधारणा विषयक कार्यशाला गोष्ठि गर्दै अभियान शुरु भएको जनाएको छ । ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माणका लागि नयाँ शहरहरुको पहिचान, शहरी पूर्वाधारहरुको तीव्र गतिमा विकास, ऐन कानुनको समय सापेक्ष परिवर्तन आवस्यक रहेको विभागका तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै इञ्जिनियर प्रविन ढकालले बताउनुभयो । हरियाली सडक, अत्याधुनिक वसपार्क निर्माण, भवन रेट्रोफिटिङ तथा पुर्नस्थापना, बहुतले पार्किङ, खुल्ला क्षेत्र, शौचालयहरुको निर्माण सहरी विकासका लागि गर्नुपर्ने कार्य औंल्याईएको छ । इञ्जिनियर ढकालले फोहोरको समुचित व्यवस्थापन, जलवायु परिवर्तन तथा यसले पारेको प्रभावको अध्ययन, एक शहर, एक न्युनतम सफा र सुन्दर पोखरी निर्माण अभियान, साना, घरेलु तथा मझौला र ठुला उद्योगहरुको स्थापना गरि रोजगारीको सृजना, व्यवस्थित खानेपानी र सरसफाईको व्यवस्थापन, गाउँको शहरीकरण शहरी विकासका लागि गर्नुपनेए काम भएको बताउनुभयो । उहाँले प्रस्तुत गरेको कार्यपत्र अनुसार ठुला, मध्यम तथा साना शहरको श्रृखंला निर्माण गरि वस्ती प्रणाली अपनाउनुपर्ने, विपद् मैत्री मानव विकास, भोलीको सुरक्षित शहरका लागि आजै विपद्को पूर्व अनुमान अनुसारको योजना र नीति, शहरीकरण स्थानीय तहलाई दिनुपर्ने उल्लेख छ ।
कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी प्रदेशको समृद्धिको खाका नेकपा(एमाले)संग मात्रै रहेको बताउनुभयो । उहाँले प्रदेशलाई समृद्ध बनाउने नेकपा(एमाले) को नेतृत्वमा बनेका प्रदेश सरकारले सुरु गरेका महत्वपूर्ण विकासका योजनाहरु अवस्था, सम्पन्न नभएको योजनाहरु चाडै सम्पन्न गर्दै प्रदेशलाई सुविधा सम्पन्न बनाउन प्रदेश सरकार र नेकपा( एमाले) लागिपर्ने बताउनुभयो । सहरी विकास विभागले प्रदेशका सहरी योजनाहरु निर्माण गर्न महत्वपूर्ण नितिगत सुझावहरु पेश गर्न यस्ता कार्यशालाहरुले सहयोग पुग्ने इन्चार्ज राईको भनाई छ ।
कोशी प्रदेशका १४ वटै जिल्लामा शहरी विकासको अवधारणाबारे गोष्ठि गरिने विभागका प्रमुख लोकेश निरौलाले बताउनुभयो । व्यवस्थित शहरका लागि शहरी नीति आवस्यक रहेको बताउनुभयो । आत्मनिर्भरता तर्फ शहरी क्षेत्रलाई उन्मुख गराउने शहरी विभागको ध्येय रहेको प्रमुख निरौलाको भनाई छ । शहरी विकासका चुनौतिहरु धेरै रहेपनि चुनौतीहरुलाई समाधान गर्दै शहरी विकासका लागि विभागले प्रदेशभरी छलफल गोष्ठि गर्ने र संघीय र प्रदेश सरकारलाई शहरी विभागको अवधारणा बुझाईने बताउनुभयो ।
विभागका सचिव सागर थापाले विराटनगरबाट अभियानको थालनी भएको बताउनुभयो । विभागले अघि सारेको अवधारणामा आएका सुझावहरुलाई समेटेर संघीय सरकार र कोशी प्रदेश सरकारलाई प्रतिवेदन हस्तान्तरण गरिने सचिव थापाको भनाई छ । विभागले लाई चाडै प्रदेशभर कार्यक्रम गरि विभागको शहरी विकासबारेको अवधारणा तय गर्ने सचिव थापाले बताउनुभयो ।
कार्यपत्रमाथि एमाले केन्द्रीय सदस्य युवराज बाँस्कोटा, प्याब्सन पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरी, योजना विज्ञ तारा निरौला, नन्द न्यौपाने, महेश मिश्र, उमेश कटुवाल, तुलसी पोखरेल , इञ्नियर भरत न्यौपाने, राम घिमिरे, मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष नवीन रिजाल, उद्योगी अरुण राठी लगायतले सुझाव दिनुभएको थियो ।
कार्यक्रममा नेकपा( एमाले) केन्द्रीय सदस्यहरु जीवन घिमिरे, युवराज बाँस्कोटा, रामलाल शाह, प्रदेश कमिटी सचिव राजकुमार भण्डारी तथा महानगर भित्रका प्रदेश सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।