महेश भट्टराई / काठमाण्डू : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रित्तो गाग्री लिएर काठमाडौंस्थित सिंहदरबार पुगेका छन् । धरानलाई खानेपानी माग्दै रित्तो गाग्री बोकेर काठमाडौं आएका उनी मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णुप्रसाद पाैडेल र खानेपानी मन्त्री प्रदीप यादवलाई भेट्न सिंहदरबार पुगेका हुन् ।
रित्तो गाग्री लिएर सिंहदरबार प्रवेश गर्न लागेका साम्पाङलाई प्रहरीले रोकेको छ । उनलाई सिंहदरबार प्रवेश गर्न दिने तर रित्तो गाग्री बाहिर नै राख्न माथिकाे आदेश रहेको भन्दै प्रहरीले उनकाे रित्तो गाग्री नियन्त्रणमा लिएको छ । रित्तो गाग्री नियन्त्रणमा लिएपनि उनी भने सिंहदरबार प्रवेश गरिसकेका छन् । अहिले मन्त्री परिषदकाे बैठक चलिरहेकाले गर्दा बैंठक सकिएपछि प्रधानमन्त्री , अर्थमन्त्री र खानेपानी मन्त्रीलाई भेटेर धरानका खानेपानी समस्या र अन्य समस्याहरू राख्ने उनको कार्यतालिका रहेको छ ।
बेला बेलामा चर्चामा आइरहने साम्पाङ अहिले रित्तो गाग्री लिएर आएकाले गर्दा सामाजिक सन्जाल र पत्रपत्रिकामा भाइरल भएका छन् । कहिले पत्रकारलाई धम्की दिएको , कहिले उपमेयरले शुभयात्रा नभनेको , कहिले कार्यपालिका बैठकमा घम्साघम्सी गरेको आदि विषयमा अहिले उनी चर्चामा रहेका छन् । जनप्रतिनिधिहरूबाट सहयोग नपाएकाले गर्दा वा उनकाे जिद्दी पनले गर्दा उनी धरानमा जनप्रतिनिधिहरूबाट एक्लिएका छन् । धरानमा चरम रूपमा रहेको खानेपानी समस्या उनी आएपछि भने केही रूपमा सहज भएको छ । अहिले पनि उनी प्रत्येक दिन जनतालाई खानेपानी दिलाउन साँझ ,बिहान खटिरहन्छन् ।
श्रमदान र आफैं मैदानमा उत्रिएर पायप तान्ने , बेल्चा हान्ने , ढुङ्गा बाेक्ने जस्ता कार्य गरेर उनी देशमै छुट्टै पहिचान बाेकेका जनप्रतिनिधि बनेका छन् । माटोसँग खेल्नुपर्छ । आफ्नो देश आफैंले बनाउनुपर्छ भन्ने उनकाे धारणा रहेको छ । उनलाई अहिले पनि हजारौं धराने र अन्य जिल्लाका श्रमदाताहरूले दिनाैं सहयोग गरिरहेका छन् । त्यस्तै गरि विदेशमा रहेका नेपालीहरूले पनि उनलाई आर्थिक सहयोग गरिरहेका छन् ।
केही समस्या पराे कि वा समस्या नपर्दा पनि छिनछिनमा सामाजिक सन्जालमा केही न केही लेखी हाल्ने उनको बिशेषता रहेको छ ।
धरानका समस्या लिएर उनी आजमात्रै हाेइन हिजो पनि पटकपटक काठमाडौं आउँदै जाँदै गरेका थिए । उनी संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्दै सोमबार रित्तो गाग्री बोकेर काठमाडौं आएका थिए ।