काठमाण्डाै – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी प्रेषण निर्देशिका जारी गरेको छ । अब अर्को अस्पतालमा भर्ना नभएसम्मको अवस्थामा समन्वयको कार्य पहिलो पल्ट बिरामी पुगेको अस्पतालको जिम्मेवारी रहनेछ ।
विभिन्न किसिमका बिरामीको रेफरका लागि मापदण्ड भए पनि समग्र अस्पतालको रेफरल प्रणालीलाई समेट्ने गरी मन्त्रालयले एकीकृत निर्देशिका जारी गरेको प्रवक्ता प्रकाश बुढाथोकीले बताउनुभएको छ ।
निर्देशिकाले आकस्मिक तथा भर्ना भएका बिरामीको उपचार सम्भव नभएमा अर्को अस्पतालमा नपुर्याउँदासम्मको जिम्मेवारी प्रथम अस्पतालको हुने निश्चित गरेको छ । यसअनुसार प्रथम विन्दुको अस्पतालले त्यहाँ सम्भव नभएको उपचारका लागि मात्र नजिकको अस्पतालमा रेफर गर्नुपर्नेछ । यसैगरी प्रथम विन्दुको स्वास्थ्य संस्थाले बिरामीलाई रेफर गर्नुअघि सम्बन्धित अस्पतालमा सम्पर्क गरेर त्यहाँ उपचार, शय्या तथा आवश्यक सेवा भए/नभएको सुनिश्चित गर्दै समन्वय गर्नुपर्नेछ ।
निर्देशिकामा हरेक अस्पताल, पालिका, प्रदेश र राष्ट्रियस्तरमा रेफरल एकाइ अनिवार्य हुने गरी व्यवस्था मिलाइएको छ । निर्देशिकामा बिरामीका आवश्यक जानकारी साझा हुने भएकाले भइसकेको परीक्षण दोहोर्याउनु नपर्ने गरी थप जाँच हुने व्यवस्था गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गएको साउन २७ गते कुनै पनि स्वास्थ्य केन्द्रको आकस्म्कि कक्षमा विना कुनै सोधखोज अनिवार्य जीवन रक्षाको उपचार तत्काल शुरू गर्नुपर्ने र सम्भव नभएका उपचार सुरक्षित रेफरको दायित्व सम्बन्धित केन्द्रको हुने व्यवस्था मिलाउने घोषणा गर्नुभएको थियो ।
मन्त्री पौडेलले बिरामीको जीवन रक्षा र अस्पतालहरूमा चाप व्यवस्थापन यसको उद्देश्य रहेको बताउनुभयो । एकातिर बिरामी कतै गएपछि विना कुनै ढिलाइ उपचार पाउनुपर्ने सुनिश्चित गर्न खोजेका र अर्कोतिर अस्पतालहरूमा चापको व्यवस्थापन समेत गर्ने लक्ष्य रहेको मन्त्री पौडेलले बताउनुभयो ।