अर्जुन सुवेदीको निर्देशनमा बन्न लागेको फिल्म ‘सोल्टिनी’को छायांकन सुरु गरिएको छ । मङ्गलवार इलामको रोङमा रहेको सानो पाथीभरा मन्दिरमा शुभ मुहूर्त गर्दै ३१ दिनको तालिकासहित छायाङ्कन सुरु भएको निर्देशक अर्जुन सुवेदीले बताए । चलचित्र को इलाम तथा भोजपुरको रमणीय प्राकृतिक सौन्दर्यमा छायाङ्कन हुनेछ ।
मन्दिर परिसरमै फिल्मका लागि पहिलो शट अभिनेता प्रकाश सपुत, अभिनेत्रीद्वय परीक्षा लिम्बू र सब्बु गुरुङ तथा कलाकार सुन्दर धितालले दिए । यस चलचित्रमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको बाक्लोउपस्थिति छ, जसमा प्रकाश सपूत, विल्सन विक्रम राई, परीक्षा लिम्बु, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा रहेका छन् ।
दुई फरक जातीय पृष्ठभूमिका पात्रको वियोगान्त प्रेमकथामा बन्न लागेको फिल्ममा प्रकाशले भीमसेन पोखरेल र परीक्षाले दिलासा राईको भूमिका निभाउनेछन् । यो जोडी पहिलो पटक एकसाथ पर्दामा देखिन लागेको हो ।
सुशन प्रजापतिको छायांकन रहने ‘सोल्टिनी’मा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले संगीत दिएका छन् । प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको फिल्मका लेखक अर्जुन सुवेदी र कुमार भट्टराई हुन् । फिल्मलाई २०८२ साल असोज ३ गते अर्थात् संविधान दिवसको दिन रिलिज गरिने जनाइएको छ ।