विराटनगर/ नेपाल डिस्टिलरीज प्रा. लि. (एनडीपीएल) ले बृहत् क्षमता अभिवृद्धि तालिम कार्यक्रम मार्फत् सीमान्तकृत उखु किसानहरूलाई सशक्तिकरण गरेर दीगो विकासप्रतिको आफ्नो प्रतिबद्धता प्रदर्शनमा क्रियाशील रहेको जनाएकाे छ । गरिबी न्यूनीकरण र आर्थिक वृद्धिमा कृषिको महत्त्वपूर्ण भूमिकालाई आत्मसात गर्दै एनडीपीएल आफ्नो सेवाक्षेत्र भित्रका समुदायहरूमा कृषि प्रविधिको ज्ञान विस्तार र प्रयोगमा अभ्यस्त बनाउन लागि परेको हो ।

किसानलाई उत्पादकत्व र लचिलोपन सुधार गर्न दीगो कृषि प्रविधिहरूको ज्ञानको विकास गर्ने उद्देश्यले यही मंसिर १० र ११ गते एनडीपीएलले विराटनगर र सर्लाहीको लालवन्दीमा क्षमता अभिवृद्धि तालिम कार्यक्रम आयोजना गरेको थियो । विराटनगरमा सञ्चालित कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, कोशी प्रदेश योजना आयोगका सदस्य, विराटनगर महानगरपालिकाका मेयरलगायत स्थानीय नेता तथा विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो । त्यसै गरी लालवन्दीमा भएको कार्यक्रममा लालवन्दी नगरपालिकाका मेयरलगायत स्थानीय नेता तथा विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको एनडीपीएलले जनाएको छ । कार्यक्रममा सहभागीहरुले स्थानीय कृषकहरूका समस्या तथा चुनौतीहरू सामना गर्न आवश्यक सहयोग एवं यसप्रकारका क्षमता अभिवृद्धि तालिम प्रभावकारी हुनेतर्फ जोड दिएका थिए । सहभागीले एनडीपीएलले गरेको पहलहरूको प्रशंसा गरेका थिए। कार्यक्रमलाई किसानहरूले आफ्नो कृषि प्रविधिलाई सुधार गर्ने अवसरको रूपमा लिँदै सक्रिय रूपमा सहभागिता जनाएका थिए।

तपाईको प्रतिक्रिया