देउडा संस्कृति संरक्षण प्रतिष्ठानले देउडा संस्कृतिका ओजपूर्ण शब्दहरूको दुरुपयोग तथा मौलिक संस्कृति अपहेलना गर्ने खालका गीत-संगीतप्रति गम्भीर आपत्ति जनाएको छ।
प्रतिष्ठानले प्रेस विज्ञप्ति जारी गर्दै ‘ढोग दिया’ जस्ता मौलिक शब्दहरूको दुरुपयोग गर्दै काली-कर्णाली क्षेत्रका परम्परा, संस्कार र संस्कृतिलाई होच्याउने प्रवृत्तिप्रति खेद व्यक्त गरेको हो।
प्रतिष्ठानले यस्तो प्रवृत्तिले सामाजिक सद्भाव र क्षेत्रीय पहिचानमा नकारात्मक असर पुर्याउने भन्दै सम्बन्धित निकायलाई यस्ता गतिविधिलाई रोक्न आग्रह गरेको छ।
अध्यक्ष ध्रुवबहादुर सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा देउडा संस्कृतिसँग जोडिएका परम्परा, कला, र सभ्यताको सम्मानमा आँच पुर्याउने गीत, संगीत, तथा सामाजिक सञ्जालका सामग्रीप्रति विरोध जनाइएको छ।
“हाम्रो सभ्यता र संस्कारसँग जोडिएका शिष्ट शब्दहरूको खिल्ली उडाउने तथा अपहेलना गर्ने गतिविधि स्वीकार्य छैन। यस्ता अपाच्य गीत-संगीतको प्रकाशन वा प्रसारण तत्काल रोक्नुपर्छ।” अध्यक्ष ध्रुवबहादुर सिंहले भने।
प्रतिष्ठानले क्षेत्रीय कला र संस्कृतिको जगेर्ना गर्न राज्य तथा सम्बन्धित निकायको सक्रियता आवश्यक रहेको उल्लेख गरेको छ। विज्ञप्तिमा देउडा संस्कृति नेपालको काली-कर्णाली क्षेत्रको गर्वमात्र नभई राष्ट्रिय पहिचानको अभिन्न हिस्सा रहेको भन्दै यसको संरक्षणमा सबै पक्षको योगदान जरुरी रहेकोमा जोड दिइएको छ।