विराटनगर– सुनसरीको धरानस्थित ‘हिसप चर्च’मा ८ र ९ वर्षीया दुई बालिकालाई अर्धनग्न बनाएर सार्वजनिक मञ्चमा उभ्याइएको भनिएको घटना मिलापत्र गरेर टुङ्ग्याउन ‘पञ्चायती’ बसिरहेको खुलासा भएको छ।
क्रिश्चियन धर्मका अगुवाहरु जिल्ला प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय र धरान उपमहानगरपालिकामा धाईरहेका छन्। सुरुमा यो घट्ना ‘क्रिसमस डे’ को दिन भएको भनिएको थियो। तर, अहिले यो घट्ना २९ मङ्सिरको भनिएको छ।
जानकारी अनुसार धरान–११ स्थित ‘हिसप चर्च’ मा ‘अभिभावक दिवस’को दिन बाइबलको कथामा आधारित नाटक देखाउने क्रममा बालिकाहरूलाई नग्न अवस्थामा प्रस्तुत गरिएको थियो। प्रभूलाई खुसी पार्न भन्दै पास्टरले बालिकालाई अर्धनग्न बनाएर प्रश्तुत गरे।
चर्चकै सदस्यहरूले उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। जुन पछि भाईरल भयो। केही पोर्न साइटमा समेत अपलोड भएको देखिएको छ। कानूनी रूपमा बालबालिकालाई नग्न बनाउनु तथा नग्न तस्वीर वा भिडिओ सार्वजनिक गर्नु अपराध हो।
तर, यो घट्नालाई ढिसमिस वनाउन पीडित परिवारलाई समेत प्रभावमा पारि स्थानीय प्रशासन र स्थानीय तहका कर्मचारी समेत पञ्चायतिमा सहभागि भईरहेका छन्। सीडीओ कार्यालय, प्रहरी कार्यालय र स्थानीय तहमा बसेर आर्थिक लेनदेनमा मुद्दा मिलाउने प्रयत्न भइरहेको छ।
चर्चका सदस्य मनीषकुमार राईले पनि घटना मिलाउन आफूहरू प्रहरी कार्यालय, जिल्ला प्रशासन र नगरपालिका गएको स्वीकारेका छन्। उनले बाइबलको कथाअनुसार अभिभावककै आग्रहमा बालिकालाई नग्न बनाइएको दाबी गरेका छन। घटनालाई अतिरञ्जित नगर्न भन्दै सबै पक्षसँग छलफल गरिएको उनले सुनाए।
उनका अनुसार मङ्गलबार सीडीओ कार्यालय र इलाका प्रहरी कार्यालयमा छलफल भएको थियो भने बुधबार साँझ मेयर हर्क साम्पाङसँग पनि यही विषयमा छलफल भयो। सीडीओ रामचन्द्र तिवारीलाई भेट्न बालिकाकी आमालाई समेत लगिएको थियो।
बालिकाकी आमाले आफ्नै आग्रहमा छोरीले नग्न भएर नाटक खेलेको बताएकी थिईन। इलाका प्रहरीमा पनि उनले यस्तै अभिब्यक्ति दिएको खुलेको छ। पीडित बालिकाका आमासँग छोरीहरुका विषयमा उजुरबाजुर नगर्ने भन्दै मिलापत्र समेत गराइएको स्रोतले बताएको छ।
यो घट्नामा मेयर साम्पाङ पनि नरम देखिएका छन्। सामपाङ कुनै बेला क्रिश्चियन अगुवा नै थिए। राजनीतिमा आउनुअघि क्रिश्चियन धर्म प्रचार गर्दै हिँड्थे। सोही कारण पनि चर्च सञ्चालकप्रति सहानुभूति राखेको हुनसक्ने स्थानीयको अनुमान छ।
यस विषयमा इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगूले घटना बाहिरिएपछि चर्चका मानिस बोलाएर सोधपुछ गरेको दाबी गरेका छन्। सुनसरीका सीडीओ तिवारी भने झारा टार्ने रुपमा प्रश्तुत भए। नाबालिकामाथि यौन दुव्र्यवहार जस्तो संवेदनशील घटना सार्वजनिक भएर सर्वत्र कारबाहीको माग उठ्दा सीडीओले भने पीडित परिवारले उजुरी नै नदिएको बताएका छन्।
स्रोतका अनुसार पीडित बालिकाकी आमाले नै भेटेर आफ्नै आग्रहमा छोरीले नग्न भएर नाटक खेलेको बताएपछि सीडीओ तिवारीले घटनालाई नउचाल्ने भन्दै चर्चको टोलीलाई फकाईदिएका थिए।