गाईघाट– उदयपुरको वेलका नगरपालिकामा करार कर्मचारी नियुक्तिको विषयलाई लिएर तालावन्दी भएको छ। नेकपा (एमाले) ले नगर कमिटिले प्रमुख प्रशासकीय अधिकृत र सूचना अधिकारीको कोठामा तालाबन्दी गरेको हो।
कर्मचारी नियुक्तीका लागि सिफारिस भएको भन्दा फरक ब्यक्ति हाजिर हुन कार्यालयमा पुगेपछि विवाद सुरु भएको थियो। त्यसपछि सिफारिस भएको व्यक्ति र हाजिर हुन आएका व्यक्ति फरक परेकाले छानबिनको माग गर्दै एमालेले तालाबन्दी गरेको हो।
नगरपालिकाले रोजगार शाखाका लागि एक जना करार कर्मचारी माग गरेर विज्ञापन गरेपछि ९ जनाले आवेदन दिएका थिए। ती मध्ये वडा नं. २ का दिव्यराज अधिकारीको नाम सिफारिस भयो। उनी ९ पुसमा हाजिर भए। तर कार्यसम्पादन अपेक्षाकृत नभएपछि शंका उत्पन्न भएको थियो।
जाँचवुझ गर्दा परीक्षा दिने व्यक्तिको नाम र हाजिर हुन आउने व्यक्तिको नाम र ठेगाना एउटै भएपनि ब्यक्ति फरक परेको खुलेको थियो। स्रोतका अनुसार परीक्षा दिने व्यक्ति कन्ट्रक्सन कम्पनीमा कम्प्युटर अपरेटरको काम गर्छन् भनेर हाजिर हुन आउने व्यक्ति हालसालै वैदेशिक रोजगारबाट फर्किएका हुन्।
सोही विषयलाई लिएर आफूहरूले छानबिन गर्न र दोषीउपर कारवाही गर्न माग गर्दा नगरपालिकाले वेवास्ता गरेपछि तालाबन्दी गरेको एमाले नगर कमिटि अध्यक्ष हिराजंङ राईले बताए। ‘नक्कली मान्छे जागिरका लागि हाजिर हुन आएको भन्ने शंकापछि हामीले छानबिन गर्न माग गर्दै नगरपालिकालाई पाँच दिनको समय दिएका थियौं। तर मेयरले बेवास्ता गर्नुभयो’ अध्यक्ष राईले भने–‘वार्ता मार्फत समाधान खोजौं नत भन्दा समेत तयार नभएपछि तालाबन्दी गर्नु पर्यो।
नगरपालिकाले छानबिन गरेर दोषीलाई कारवाही नगरेसम्म तालाबन्दी नखुल्ने एमालेले जनाएको छ। मेयर अशोक कार्कीले भने आफुले दोषीलाई कारवाही गर्छु भन्दा पनि ताला लगाईकाले तत्काल ताला खोलेर जनताको सेवालाई सुचारु हुन दिनुपर्ने बताएका छन्।
उनले नियुक्ति प्रकृयामा मानवीय कमजोरी भएको हुनसक्ने उल्लेख गर्दै थप छलफल गरेर दोषीलाई कारबाही हुने जनाए। ‘हाजिर प्रकृयामा अलिकति मानवीय कमजोरी भएको देखिन्छ। अहिले मेरो अध्यक्षतामा वार्ता समिति गठन गर्ने निर्णय गरेका छौं। छानबिन गरेर विवाद समाधान गर्छौं।’– कार्कीले भने।
-स्र्रोत शिर्ष खवर