काठमाडौँ– बझाङको तलकोट गाउँपालिका–२, सुकगाडमा गएराती करिव साढे ८ बजे जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
तलकोटबाट चैनपुरतर्फ आउँदै गरेको से १ ज ८४३ नम्बरको जीप सडकबाट अनियन्त्रित भइ करिब २ मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा तीन जनाको घटनास्थलमै र एक जनाको जिल्ला अस्पताल सिमखेत लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।
दुर्घटनामा चालक केदारस्युँ गाउँपालिका–१, रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका–४ का ३६ वर्षीय बमबहादुर धामी, तलकोट गाउँपालिका–४ कै ७२ वर्षीय जोगेनी देवी धामी र बम बहादुर धामीकी ५ वर्षीया छोरी आकृति धामीको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका इन्स्पेक्टर लोकेन्द्रसिंह ठगुन्नाका अनुसार बझाङकै मष्टामा भएको अर्को जीप दुर्घटनामा चालकको मृत्यु भएको छ। मष्टाको भातेखोलाबाट रनाडातर्फ जाँदै गरेको सु.प.प्र.०१००१ ज १३९८ नं.को जीप सडक अनियन्त्रित भइ १ सय मिटर तल खस्दा चालक मष्टाकै ४२ वर्षीय धर्म थापाको मृत्यु भएको हो।
राति ९ बजे कोटदेवल भन्ने ठाउँमा जीप दुर्घटनामा परेको हो। जीपमा चालक थापा एक्लै रहेको प्रहरीले जनाएको छ।