पौषको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘कार्साङ’को ट्रेलर सार्वजनिक भएको छ । अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर बुधबार सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ । सार्वजनिक ट्रेलरमा फिल्मका अधिकांश कलाकारहरूलाई देखाइएको छ । शेर्पा समुदायको परम्परागत संस्कृति र आर्थिक समस्यासँग जुधिरहेको एउटा झाँक्री परिवारको कथालाई ट्रेलरमा मर्मस्पर्शी रुपमा देखाइएको छ ।

झाँक्रीको भूमिकामा रहेका फिल्मका मुख्य पात्र दयाहाङ राईलाई समाजले पानी काट्ने चेतावनीबाट ट्रेलर सुरु हुन्छ । भाकल र हराएको छोरा खोज्न दयाहाङले गर्ने संघर्षमा ट्रेलर केन्द्रित छ । भद्दा र द्विअर्थी संवाद हाबी रहेको ट्रेलरमा जितु नेपाल र दीया मास्केबीचको नोकझोंक रोचक देखिन्छ ।

फिल्ममा सिर्जना निङ्लेखु, बुद्धि तामाङ, कविता आले, यासेली लिम्बू, रविन्द्र झा, सुरवीर पण्डित, कर्मा शेर्पा, प्रेम लोप्चन, सृष्टि गौतम, डोमा ह्योल्मो, लगायतको पनि अभिनय छ । सिर्जनाको यो डेब्यु फिल्म हो । यसमा उनी दयाहाङको श्रीमतीको भूमिकामा छिन् ।

यो फिल्ममा यम शेर्पाको कथा, पटकथा, संवाद र निर्देशन छ । यो उनको पहिलो निर्देशकीय फिल्म हो । र, पहिलो फिल्ममै उनले आफ्नै समुदायको कथा उठाएका छन् । यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुति रहेको फिल्मका निर्माता तथा छायाँकार पुरुषोत्तम प्रधान हुन् । यसमा गोविन्द बोहरा सह-निर्माता तथा आङछिरिङ शेर्पा कार्यकारी निर्मातामा रहेका छन् । साहिल खानले यो फिल्म तयार पारेका हुन् । फिल्ममा मनोज थापा मगर, एसडी योगी, विश्व दोङ र अस्मान लोप्चनको संगीत छ । 

तपाईको प्रतिक्रिया