नेपाली फिल्मको मार्केट मा फिल्मी गीतहरुको अभाव भइरहेको समयमा ‘मायाबी’को नयाँ गीतले केही नयाँ आभाष गराएको छ । आगामी फागुन १४ गते (महाशिवरात्रि)बाट प्रदर्शनमा आउन लागेको फिल्मको पहिलो गीत अंग्रेजी नयाँ वर्षको अवसरमा सार्वजनिक गरिएको हो । ‘त्यो माया हो’ बोलको रोमान्टिक भावको गीतमा फिल्मका मुख्य अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाइँ प्रस्तुत छन् l भिडियोमा दुवैलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।
सफ्ट शैलीको यो रोमान्टिक गीतमा पल र दीपिकाले एक अर्कामा प्रेमको भावना पोखेका छन् । गीतमा एसडी योगी र सदीक्षा कट्टेलको स्वर, राम अविरल विष्टको शब्द रचना तथा गायक योगी स्वयंको संगीत छ । सार्वजनिक गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । यो फिल्ममा दिवाकर भट्टराइको कथा, लेखन तथा निर्देशन छ ।
फिल्ममा पल र दीपिकासहित प्रशान्त ताम्राकार, सुशील सिटौला, अन्शु महर्जन, रवि डंगोल, राम प्रसाईं, दीपेन्द्र सिम्खडा, लक्ष्मी गिरी, राजाराम पौडेल, करिश्मा श्रेष्ठ, संगीता सिलवाल लगायतको अभिनय छ । यो फिल्मबाट ‘म्यान हन्ट इन्टरनेशनल नेपाल २०१६’का विजेता समिम खानले डेब्यु गरेका छन् ।
फिल्मको गीतमा एसडी योगीका साथै शम्भुजित बाँस्कोटाले पनि संगीत दिएका छन् । यसमा शाहिल खानको ट्रेलर, राजु विक्रम थापाको डीओपी तथा मिलन श्रेष्ठको सम्पादन छ ।
कमेडी, एक्सन र पारिवारिक फिल्म चलिरहेको समयमा नेपाली फिल्मले कही कतै लभ स्टोरी फिल्मको अभाव महशुश गरिरहेको छ । यसलाई ‘मायाबी’ले पुरा गर्ने अपेक्षा गर्न सकिन्छ ।