राजविराज– १६ मंसिरमा सम्पन्न उपनिर्वाचनमार्फत वडाध्यक्षमा निर्वाचित भएपछि सपथ ग्रहण समारोहबाटै पक्राउ परेका सप्तरीको डाक्नेश्वरी नगरपालिका १ का वडाध्यक्ष धीरेन्द्रकुमार साहविरुद्धको मुद्दा अदालतमा पुगेको छ।

प्रहरीको अनुशन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले ३ वर्ष पुरानो घट्नामा वडाध्यक्ष साहसहित ७ जना विरुद्ध मंगलबार मुद्दा दायर गरेको हो। साहविरुद्ध जबरजस्ती करणीपछि हत्या गरेको र अपहरण गरी व्यक्ति बेपत्ता पारेको तीन वटा कसुरमा छुट्टाछुट्टै अभियोगपत्र दायर भएको छ।

उक्त मुद्दामा वडाध्यक्ष साहसहित राजनारायण साह, इन्द्रनारायण साह, सुशील साह, शिवकुमार साह, पंकज साह र ओमप्रकाश साहलाई प्रतिवादी बनाईएको छ। अभियोग पत्रसाथ धीरेन्द्र र राजनारायण साहलाई अदालतमा पेस गरिएको छ। बुधबार जिल्ला अदालत सप्तरीका न्यायाधीश दीपक धितालको इजलासमा बयान भयो। बिहीबार थुनछेक आदेश हुनेछ।

यसअघि जेठ ०८१ मा शिवकुमार र इन्द्रनारायणलाई पनि प्रहरीले पक्राउ गरेको थियो। २१ जेठमा जिम्मा जमानीमा रिहा भएका उनीहरु त्यसपछि फरार छन्। पंकज, ओमप्रकाश र सुशीलका हकममा प्रहरीले पक्राउ पुर्जी मागेको छ।

उनीहरूले २२ चैत ०७८ को बिहान १० बजे सोही वडाकी २० वर्षकी सन्तोषीकुमारी साहलाई पटक–पटक बलात्कार गरी हत्या गरेको भन्दै उनकी आमा चन्दरदेवी साहले जाहेरी दिएकी थिइन्। जाहेरी अनुसार बलात्कारपछि घाँटी थिचेर सन्तोषीको हत्या गरिएको थियो। घट्ना चन्दरदेवीकै घरभित्र भएको जाहेरीमा उल्लेख छ।

मृतकको घाँटीमा डाम देखिएको र पोस्टमार्टममा पनि मृत्यु अस्वभाविक देखिएको प्रहरीको दाबी छ। प्रत्यक्षदर्शीले पनि घट्नामा वडाध्यक्ष साहको संलग्नता पुष्टि हुने बयान कागज गरिदिएका छन्। प्रतिवादी मध्ये इन्द्रनारायण सन्तोषीको घर बाहिर उभिइरहेको र फोनमा कसैलाई छिटो आऊ घरमा कोही पनि छैनन् भनेर सूचना दिएको, त्यसको केही समयपछि मोटरसाइकलमा आएका व्यक्तिहरूले बेहोस अवस्थामा सन्तोषीलाई लिएर गएको देखेको लक्ष्मी मडर राजधोवले कागज गरेका छन्। घटनाको समयमा धीरेन्द्र पनि उक्त घरमा गएको देखेको कागजमा उल्लेख छ।

स्थानीय छोटेलाल यादवले ‘घरमै भएका सन्तोषीका भाइ नितिशकुमारलाई आमालाई बोलाएर आऊ भनी पठाएको र त्यसपछि घटना घटाएर उनीहरू भागेको देखेको’ बयान दिएका छन् भने लिलमदेवी अधिकारीले पनि घटनाको समयमा ५÷६ जनालाई उक्त घरमा झगडा गरिरहेको देखेको बताएकी छन्।

घटना भएको भनिएकै साँझ ६ बजेतिर धीरेन्द्र र राजनारायण साहले नितिशलाई समातेर सडक पार गराउँदै लगेको देखेको छोटेलाल यादवले प्रहरी कार्यालयमा कागज गरिदिएका छन्। यस्तै ब्रह्मदेव यादवले पनि धीरेन्द्रसहितका व्यक्तिले खेतैखेत लैजाँदै गरेको देखेको बयान दिएका छन्। लक्ष्मी मडर राजधोवले इन्द्रनारायण साहसँग बालकलाई देखेको बयान दिएका छन्।

जानकारी अनुसार धीरेन्द्रले सन्तोषीको विवाह आफूसँग गराइदिन धम्की दिँदै आएका थिए। तर चन्दरदेवीले छोरीको विवाह नेपालमा नगर्ने बताउँदै आएकी थिइन्। त्यही विषयले घट्नाको रुप लिएको जनाईएको छ।

घटनापछि भाई नितिशले दिदीको हत्या कसरी भयो भन्ने बताएको र त्यसपछ नितिशलाई अपहरण गरी बेपत्ता पारेको परिवारको आरोप छ। दिदीको हत्या भएको एक वर्षपछि (१७ फागुन ०७९) भाइ नितिश पनि बेपत्ता भएका थिए। हत्यालगत्तै सन्तोषीकी आमाले प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। तर प्रहरीले उनको जाहेरी दर्ता गर्न अस्वीकार गरेको थियो। पछि अदालत मार्फत उजुरी दर्ता भएको हो।

धीरेन्द्रले भने बलात्कार, हत्या र अपहरणको घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन्। स्थानीय इन्द्रनारायण साहको खेतमा रोपेको काउली चोरी गरेको भन्दै चन्दरदेवी साहलाई जरिवाना गराएको र सोही कुराको रिसइबी राखी मुद्दा लगाएको जिकिर उनको छ।

वडाध्यक्षको शपथग्रहण कार्यक्रमबाट धीरेन्द्रलाई प्रहरीले २० मंसिरमा पक्राउ गरेको थियो।

तपाईको प्रतिक्रिया