काठमाण्डाै – अबका केही दिन तराई मधेशका क्षेत्रमा हुस्सुले जनजीवन प्रभावित हुन सक्ने जलवायुविज्ञले बताएका छन् ।
मधेश प्रदेशदेखि पश्चिम तराईको कञ्चनपुरसम्म लागेको हुस्सु अझै तीन/चार दिन कायम रहने सम्भावना रहेको जलवायु विपद् विज्ञ डा. धर्मराज उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो केही ठाउँमा हुस्सु हटे पनि तराई, मधेश र खोँचहरूमा लागेको हुस्सु बुधवारसम्म कायमै रहने सम्भावना छ ।
तराई क्षेत्रमा न्यूनतम तापक्रम घट्ने र केही ठाउँमा शीतलहर चल्ने सम्भावनासमेत रहेको छ ।
बुधवार पश्चिमी वायुको सामान्य प्रभाव देखिने भएकोले त्यसले केही दिन हुस्सु हट्ने सम्भावना रहेको जलवायु विपद् विज्ञ डा. उप्रेतीले बताउनुभयाे । हुस्सुका कारण चिसो बढ्नुका साथै यसमा प्रदूषण समेत रहने भएकाले स्वास्थ्यमा सावधानी अपनाउन उहाँको आग्रह छ ।