हेटौंडा– ४ महिनाअघि भैसींले बाघ मारेको मकवानपुरको मनहरी गाउँपालिकामा आईतबार साँझ बाघको आक्रमणबाट एक वृद्धाको ज्यान गएको छ।

मनहरी गाउँपालिका–५, बसन्तपुर गुम्बाटोलका धनबहादुर रूम्बाकी श्रीमति ७२ वर्षीया कान्छिमायाको बाघको आक्रमणमा मृत्यु भएको हो। घरनजिकैको खोल्सामा घाँस काट्न गएका बेला साँझ करिव ५ बजे वृद्धालाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ।

अबेरसम्म नफर्किएपछि खोजी गर्ने क्रममा घरबाट करिब ५ सय मिटर पूर्व उनलाई मृत अवस्थामा फेला पारिएको थियो। शरीरमा चोट लागेको अवस्थामा रुम्बालाई आफन्तले मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्स्पेक्टर ठाकुरप्रसाद सापकोटाले बताए।

मनहरी–६ प्रतापपुरमा ४ महिनाअघि (५ भदौ) बलबहादुर राईको गोठमा बाँधेको भैंसीलाई आक्रमण गर्ने क्रममा भैंसीले प्रतिकार गर्दा बाघ मरेको थियो। बाघ बुढो, घाइते र भोको भएकाले भैंसीको प्रतिकारमा मरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।

मनहरीको पूर्वी इलाका निकुञ्जको मध्यवर्ती वनसँग जोडिएको छ। यहाँ हरेक वर्ष वन्यजन्तुको आक्रमणले जनधनको क्षति हुँदै आएको छ।

तपाईको प्रतिक्रिया