गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘रङ्गेली’बाट निर्देशन गरी चर्चामा आएका अर्जुन सुवेदीले आफ्नो दोस्रो फिल्म ‘सोल्टिनी’को निर्माण घोषणा गरेका छन् । घोषणा टिजर र फर्स्टलुक पोस्टरमार्फत् फिल्मका मुख्य कलाकार र कथावस्तुबारे प्रस्तुत गर्दै यस चलचित्रको औपचारिक घोषणा गरिएको हो ।अभिनेता प्रकाश सपूत र अभिनेत्री परीक्षा लिम्बूलाई लिएर बन्न लागेको फिल्मले जातीय भेदभाव र वियोगान्त प्रेमकथा भन्नेछ ।
घोषणा भिडियोमा चर्चित कथा वाचक साइग्रेस पोखरेलको मार्मिक कथा वाचनले चलचित्रको भाव व्यक्त गरेको छ । सार्वजनिक पोस्टरमा प्रकाश र परीक्षा भावुक मुद्रामा प्रस्तुत छन्, जसले उनीहरुबीच विछोड हुन लागेको संकेत गर्छ । त्यसपछि प्रकाश र परीक्षाको पात्र परिचय दिँदै उनीहरुबीच अन्तिमपटक भेट हुँदाको मर्मस्पर्शी संवाद समावेश छ ।
टिजरमा उल्लेख भएअनुसार फिल्ममा प्रकाश ‘भीमसेन पोखरेल’ र परीक्षा ‘दिलासा राई’को भूमिकामा प्रस्तुत हुनेछन् । चलचित्रको कथा भोजपुरको कुनै गाउँमा आधारित रहेको भिडियो मा जनाइएको छ । पृष्ठभूमिमा चलचित्रको थिम गीतले भावनात्मक स्पर्श थपेको छ। फिल्ममा प्रकाश र परीक्षाबाहेक अन्य कलाकारहरु निश्चित भएका छैनन् । आगामी पुष १५ गतेबाट छायांकनको तयारी गरिएको फिल्मलाई २०८२ सालको असोज ३ गते (संविधान दिवस) प्रदर्शन गरिने जनाइएको छ ।
प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिनेको र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको फिल्मको निर्मातामा रेजिना विष्ट र संसार चौलागाईं छन् । फिल्मलाई नेपालमा आरआर फिल्म्स र अन्तर्राष्ट्रिय बजारमा नेप सिनेले वितरण गर्ने निश्चित भइसकेको छ । हाल चलचित्रका कलाकार र प्राविधिक टोलीको वर्कसप चलिरहेको छ ।