विराटनगर ७ पुस । मोरङको कटहरीका एक हजार बढी महिलाहरुको प्रजनन् स्वास्थ्य परीक्षण गरिएको छ ।

रिप्पल नेपाल चितवनको प्राविधिक सहयोग तथा कोकन विराटनगरसँगको सहकार्यमा कटहरी गाउँपालिकाले आयोजना गरेको प्रजनन स्वास्थ्य सम्वन्धी निशुल्क जाँच र अप्रेसन शिविरमा १ हजार २ सय ४० जनाको सहभागिता रहेको कोकन अध्यक्ष मञ्जिता उपाध्यायले जानकारी दिनुभयो ।

पुस २ देखि ५ गते सम्म कटहरीका दुई स्थानमा आयोजना गरिएको शिविरमा पाठेघरको समस्या भएका महिलाहरुको संख्या अधिक पाईएको छ । शिविरपछि विराटनगरमा आयोजित अन्तक्रियामा चिकित्सकको टोलीले कटहरीका महिलामा प्रजनन रूग्णता अधिक रहेको पाईएको बताएका थिए । प्रजनन् स्वास्थ्य परीक्षण गरिएकामध्ये ५९ जना पाठेघरको मुखको क्यान्सर हुनुभन्दा अघिको चरणमा रहेको पाईएको स्वास्थ्यकर्मी रुपा कर्माचार्यले जानकारी दिनुभयो ।

प्रारम्भिक चरणमा रहेकाहरुको उपचार तालिमप्राप्त नर्सले गर्न सक्ने उहाँले बताउनुभयो । परीक्षण गरिएका मध्ये १८५ जनामा आङ खस्ने समस्या रहेको र ५९ जनालाई रिङ पेसरि लगाईएको कर्माचार्यले बताउनुभयो । उहाँका अनुसार शिविरमा सहभागि महिलाहरुमा स्वास्थ्य सचेतना कम पाईएको छ । उहाँले भन्नुभयो,‘ महिलामा बाँझोपनको समस्या अधिक छ । प्रजनन स्वास्थ्य चेतनामा पनि कम पाईयो ।’ परीक्षणका क्रममा पाठेघरमा संक्रमण भएका महिलाको संख्या पनि धेरै रहेको कर्माचार्यले जानकारी दिनुभयो ।

स्थानीय सरकारले प्रजनन स्वास्थ्य रक्षामा ध्यान दिन आवस्यक रहेको उहाँको भनाई छ । कर्माचार्यका अनुसार अध्ययनका क्रममा शहरका महिलामा स्तन क्यान्सर र गाउँका महिलामा पाठेघरको मुखको क्यान्सर बढी छ । महिलाहरुले खुलेर प्रजनन स्वास्थ्य परीक्षण गराउन नमान्ने गर्दा समस्या बढी हुने गरेको उहाँले बताउनुभयो । महिलाको प्रजनन स्वास्थ्य परीक्षणका लागि सरकारले अघि सारेको ‘सि एन्ड ट्रिट’ नीति राम्रो भएको उहाँले बताउनुभयो । विराटनगरको सीमा जोडिएको भएपनि कटहरी गाउँपालिका महिलाहरुमा प्रजनन रूग्णता अधिक देखिएकाले स्थानीय सरकारले विशेष ध्यान दिन आवस्यक देखिएको चिकित्सकहरुले गाउँपालिकालाई सुझाव दिएका थिए ।

शिविरमा शल्यक्रिया गर्नुपर्ने अवस्थाका २४ जनाको तत्काल चितवन मेडिकल कलेजमा शल्यक्रिया गरिने भएको छ । कटहरी गाउँपालिकासँगको सहकार्यमा शल्यक्रिया गरिने बताईएको छ ।

शिविरमा आएका ४० वर्ष मुनिका ८ जना महिलामा पनि पाठेघरको समस्या देखिएको बताईएको छ । शिविरमा गाईनोकोलोजिस्ट शुश्मा प्रधान, डा. आशिष बस्नेत, स्वास्थ्यकर्मीहरु रुपा कर्माचार्य, सीता गुरुङ, संगीता सेडाइँ, सन्तोष उप्रेती, नमिता प्रजा, दिलु थापा, माधव बानियाँ, टेकबहादुर कार्की, हरिहर उप्रेतीले सेवा दिनु भएको थियो । कटहरीमा आयोजना गरिएको शिविरको प्रभावकारिताका कारण अन्य स्थानहरुबाट शिविर राखिदिन माग आएको कोकनका सल्लाहकार कोषराज न्यौपानेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया