भक्तिविलास पोखरेल

गाईघाट, पुस ३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले बजेट सुनिश्चित नहुँदा उदयपुरमा निर्माण गर्ने भनिएको सगरमाथा आन्तरिक विमानस्थलको निर्माण कार्य अगाडि बढाउन नसकिएकोे बताउनुभएको छ ।

प्रस्तावित विमानस्थल निर्माण गर्नका लागि छुट्याइएकोे जग्गाको स्थलगत अवलोकन गर्न उदयपुरको त्रियुगा नगरपालिका–१ स्थित जोगीदह पुग्नुभएका मन्त्री पाण्डेले विमानस्थल निर्माण समितिद्वारा आयोजित एक कार्यक्रममा सो कुरा बताउनुभएको हो ।

मन्त्री पाण्डेले भन्नुभयो, “सरकारसँग विमानस्थल निर्माणका लागि आवश्यक बजेट नहुँदा विगत लामो समयदेखि निर्माण रोकिएको हो । यहाँ जग्गाको मुआब्जासमेत तिर्नु नपर्ने अवस्था रहेको र जग्गा प्राधिकरणका नाममा आइसकेको अवस्थामा सरकारले बजेट सुनिश्चित गरेर निर्माणको कार्यलार्ई सुचारु गर्न सरकारका विभिन्न निकायबिच अहिले छलफल भइरहेको छ ।”

उहाँले यो विमानस्थल निर्माणका लागि लागत स्टिमेट तयार गरेर जनस्तरको सहभागितासँगै स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले संयुक्त रूपमा बजेट विनियोजन गरी आर्थिक सुनिश्चित गर्न अति आवश्यक रहेको दाबी गर्नुभयो । मन्त्री पाण्डेले राज्यसँग अहिले बजेट अभाव भएकाले यो योजनाका लागि विनियोजन गर्न नसकेकाले सबै पक्ष मिलेर, सबै पक्षको लागत सहभागितामा मात्र यो विमानस्थल निर्माण गर्न सकिने बताउनुभयो ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी, मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डे, उदयपुर निर्वाचन क्षेत्र नं. १ का सङ््घीय सांसद डाक्टर नारायण खड्कासहित प्रस्तावित विमानस्थल क्षेत्रको अवलोकन गर्न पुग्नुभएका मन्त्री पाण्डेले बजेट अभावको देखाएपछि स्थानीय भने निराश भएका छन् ।

सोही कार्यक्रममा उदयपुर क्षेत्र नं. १ का सङ्घीय सांसद डा. नारायण खड्काले भने हजारौँ रुख काट्न लगाएर, यहाँको वातावरण बिगारेर अहिले विमानस्थल निर्माणको कार्य कुनै पनि बहानामा रोकिएमा जनता चुप लागेर नबस्ने बताउनुभयो । सांसद खड्काले भन्नुभयो, “राज्यले एउटा महìवपूर्ण काम जग्गा प्राप्ति र प्रस्तावित विमानस्थल क्षेत्रभित्रका रुख कट्ने काम सकिसकेको छ । अब कुनै पनि बहानामा निर्माणको काम रोकिनु हुँदैन ।”

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले भने उदयपुरको प्रस्तावित सगरमाथा विमानस्थल वातावरणलगायतका सबै विषयले उपयुक्त रहेको भन्दै आफूहरूले बजेट पाए तत्काल काम सुरु गर्ने बताउनुभयो । यसअघि पनि सरकारले बजेट विनियोजन नगरेको अवस्थामा आफूहरूले प्राधिकरणका तर्फबाट पाँच करोड रुपियाँ विनियोजन गरेर काम गरेको भन्दै सरकारले बजेट सुनिश्चित नगरी प्राधिकरणले मात्र काम अगाडि बढाउन नसक्ने बताउनुभयो ।

त्रियुगा नगरपालिका–२ का वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार उदयपुरको त्रियुगा नगरपालिका–१ र २ को सामुदायिक वन क्षेत्रको १५७ हेक्टर वन अधिग्रहण गरी करिब २६ प्रजातिका करिव १५ हजार रुख कटान गरी विमानस्थल निर्माणका लागि जग्गा खाली गरिएको थियो । पछिल्लो समय हरियो रुख काटेर काठ व्यवासायीमार्फत ठुलो परिमाणमा काठ बिक्री गर्नेबाहेक अन्य काम पूर्ण रूपले रोकिएको छ । अब स्थानीयद्वारा पुनः जग्गा अतिक्रमण हुने खतरा बढेको छ ।

साभार :गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया