राजविराज — सपथग्रहण समारोहबाटै पक्राउ परेका सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष घिरेन्द्रकुमार साहमाथि प्रहरीले हत्या, अपहरण र बलात्कारसहितको चार्ज लगाएर अनुशन्धान सुरु गरेको छ।

१६ मंसिरमा सम्पन्न उपनिर्वाचनमा जसपा नेपालबाट उम्मेदवार भई वडाध्यक्षमा निर्वाचित भएका साहलाई प्रहरीले बिहीबार डाक्नेश्वरी–१, मधुवनी टोलबाट पक्राउ गरेको थियो। प्रहरीका अनुसार साहविरुद्ध ०७८ सालमा एक महिलालाई वलात्कार गरी हत्या गरेको र एक ब्यक्तिलाई अपहरण गरी वन्धक बनाएको आरोपमा उजुरी परेको थियो।

धिरेन्द्रसहितका ब्यक्तिहरुले २२ चैत ०७८ मा डाकनेश्वरी–१, माधोपुरमा एक महिलालाई वलात्कार गरी हत्या गरेको भन्दै १७ चैत ०७९ मा हुलाक मार्फत उजुरी परेको सप्तरी प्रहरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।

त्यसपछि १० जेठ ०८० मा जिल्ला सरकारी वकील कार्यालय मार्फत सोही मुद्दा उच्च अदालत जनकपुर राजविराज इजलासमा पुगेको थियो। इजलासले ४ चैत ०८० मा परमादेश जारी गर्दै मुद्दा दर्ता गरी अनुशन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो।

परमादेशका आधारमा इलाका प्रहरी कार्यालय कल्याणपुरले १४ साउन ०८१ मा मुद्दा दर्ता गरी १५ साउन ०८१ मा पक्राउ अनुमति लिएको थियो। सोही पक्राउ अनुमतिका आधारमा धिरेन्द्र यतिवेला पक्राउ परेका हुन।

तपाईको प्रतिक्रिया