बारा । विश्व प्रसिद्ध गढीमाई मेलाको अवसरमा बाराका सबै १६ पालिकामा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । मंसिर २ गते बसेको पालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूको बैठकले मेलाको सफल व्यवस्थापनका लागि यस्तो निर्णय गरेको हो ।
गढीमाई मेला पाँच-पाँच वर्षको अन्तरालमा बाराको बरियारपुरमा लाग्ने धार्मिक तथा सांस्कृतिक महत्वको मेला हो । मेलालाई सहयोग गर्न र स्थानीय चाडपर्वको रुपमा मान्यता दिँदै १६ वटै पालिकाले ४ देखि ५ दिनसम्म सार्वजनिक बिदा दिने महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले जानकारी दिए ।
यसैगरी, जीतपुरसिमरा उपमहानगरपालिकाले मंसिर २१ देखि २४ गतेसम्म सबै वडा कार्यालय, सरकारी तथा निजी कार्यालय, शैक्षिक संस्था, संघ-संस्था, बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने जानकारी गराएको छ । महागढीमाई नगरपालिकाले भने अति आवश्यक सेवा बाहेक सम्पूर्ण सेवा मंसिर २१ देखि २५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
गढीमाई मेला मंसिर १ गते सुरु भई मंसिर ३० गतेसम्म चल्नेछ । मेलाको व्यवस्थित सञ्चालन र पर्यटकीय तथा सांस्कृतिक विकास प्रवर्द्धन गर्न सबै पालिकाले सहयोग गर्ने सहमति भएको छ । मेलामा दर्शनार्थीको ठूलो घुइँचो लाग्न सुरु भइसकेको मुख्य व्यवस्थापन समितिले जनाएको छ ।
महागढीमाई नगरपालिकाले यसअघि नै मंसिर २१ देखि २५ सम्म बिदा हुने सूचना जारी गरेको थियो । मेलाको व्यवस्थापनमा सबै पालिकाले सक्रिय सहयोग गर्ने सहमति समितिले जनाएको छ ।