विराटनगर ÷कवि हरि कट्टेलको २०४५ सालमा प्रकाशित छन्दोबद्ध लघु खण्डकाव्य बिलौनै बिलौनाको दोस्रो संस्करणको प्रकाशक संस्था पूर्वाञ्चल साहित्य प्रतिष्ठान र छन्द वाटिका नेपालद्वारा आयोजित एक विशेष कार्यक्रमका बीच लोकार्पण भएको छ ।
विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, प्राध्यापक कविराज न्यौपाने, प्रा.डा. मेदिनीप्रसाद शर्मा, प्रा.डा. हरिहर भण्डारी, कवि सोमराज अभय, साहित्यकार बलराम पोखरेललगायतले संयुक्त रूपमा गरेका थिए । कृतिको समीक्षा गर्दै नेपाली लेखक संघकी केन्द्रीय सदस्य तथा साहित्यकार निर्मला कोइरालाले हरि कट्टेलको बिलौनैबिलौना उनको १८ वर्षभन्दा कम उमेरमै प्रकाशित छन्दोबद्ध खण्डकाव्य भएको र २०४५ सालको कलिलो उमेरमै छन्दमा सिद्धहस्त देखिएको कुरा गरिन् । उनले भनिन्, ‘बिलौनैबिलौना काव्यमा कट्टेलले अर्को कृति चन्द्रकान्ति तयार रहेको र छिटै प्रकाशित हुँदैछ भनेर घोषणा गरेको देखिन्छ । यसो हुँदा यो बिलौनै बिलौनासँग यसपटक जोडिएर प्रकाशन भएको चन्द्रकान्ति कट्टेलको अझ जेठो कृति देखिन्छ । यसबाट हरि कट्टेल बालवयमै कवितामा विलक्षण प्रतिभाका धनी देखिन्छन् । उनका यहाँ रहेका गद्य पद्य कविताहरू परिपाका छन् ।’
कार्यक्रममा प्रमुख अतिथि कविराज न्यौपानेले पञ्चायतकालमा नै यस्ता विद्रोही चेतका कविता लेख्ने कवि छन्दोकविताको पुराना र बलिया कवि भएको चर्चा गरे भने विवश पोखरेले कट्टेल छन्दमा मात्र नभएर गद्य कविताका पनि राम्रा कवि भएको चर्चा गरे । उनले भने, ‘कट्टेल छन्द कविता निकै संकटमा परेका बेला बिलौना काव्य लिएर देखा परेका पुराना र स्थापित कवि हुन ।’ कार्यक्रममा साहित्यकार बलराम पोखरेल प्रा डा मेदिनी शर्मा प्रा डा हरिहरलगायतले पनि कट्टेल र उनको विमोचित काव्यको चर्चा र प्रशंसा गरे । कार्यक्रममा कवि रमेशचन्द्र अधिकारी, कवि शारदा कार्की, प्रज्ञा कट्टेललगायतले विमोचित काव्यका कविताहरू वाचन गरेका थिए । बिलौनै बिलौना २०४४ सालमा लेखी सर्वप्रथम २०४५ मा छापिएको छन्दोबद्ध लघुकाव्य कृति हो । उपस्थितहरूलाई पूर्वाञ्चल साहित्य प्रतिष्ठानका महासचिव गोकुल अधिकारीले स्वागत गरेका थिए भने कार्यक्रम छन्दवाटिकका सचिव चिरञ्जिवी काफ्लेको सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया