विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिक्षाको गुणस्तर सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ ।
झापाको दमकमा आज नेपाल इंग्लिश ल्याङ्वेज टिचर एसोसिएसनको कोशी प्रदेश स्तरीय सम्मेलनको उदघाटन गर्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो – ‘प्रदेश शिक्षा नीति बनाएर, अहिले भइरहेका विद्यालयहरु, स्कुल कलेजहरुको भौतिक पूर्वाधार र गुणस्तर बढाउन सहयोग गर्ने हाम्रो योजना छ । हामी यसमा लागिरहेका छौँ । ‘ विद्यालय मर्ज गर्दा भौतिक पूर्वाधार थप गर्न सहयोग गर्ने नीति रहेको बताउदै उहाँले अर्काे वर्षबाट यो विषयमा नीति नै बनाउने जानकारी दिनुभयो । गुणस्तर बढाउने विषयमा भने स्थानीय तहका जनप्रतिनिधिहरुले ध्यान दिन नसकेको उहाँले बताउनुभयो । यी सबै कुरालाई ध्यान दिएर शिक्षाको सुधार गर्ने प्रतिबद्धता उहाँले बताउनुभयो ।

उहाँले अंग्रेजी भाषाको ज्ञान अनिवार्य जस्तै भएको भन्दै सबै सामुदायिक विद्यालयहरु अंग्रेजी माध्यमको बनाउन समेत स्थानीय तहहरुलाई सुझाव दिनुभयो । विश्व नै सानो गाँउ जस्तै भएको अवस्थामा अवसरको खोजी गर्न र जीविकोपार्जन गर्न पनि अहिले अंग्रेजी भाषा आवश्यक रहेको मुख्यमन्त्री कार्कीले धारणा राख्नुभयो। उहाँले भन्नुभयो – ‘अंग्रेजी भाषा असाध्यै आवश्यक छ । स्थानीय तहले सबै विद्यालयलाई अंग्रेजी माध्यमबाट सुरु गर्न आवश्यक छ ।’
उहाँले पहाडी र हिमाली क्षेत्रका विद्यालयहरुलाई बलियो बनाएर गुणस्तरीय शिक्षा दिने गरी नीति तथा कार्यक्रममा समेटिएको उहाँले जानकारी दिनुभयो । सम्मेलन आज र भोलि दुई दिनसम्म सञ्चालन हुने छ ।

तपाईको प्रतिक्रिया