- रोशन पोखरेल विराटनगर

काठमाडौं । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मतगणना जारी रहँदा रिपब्लिकन उम्मेदवार डनल्ड ट्रम्पले आफू विजयी भएको उद्घोष गरेसँगै विश्वका नेताहरुद्वारा ट्रम्पलाई बधाई दिने क्रम सुरु भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, हंगेरियन प्रधानमन्त्री भिक्टोर ओर्बान, बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले ट्रम्पलाई बधाई दिएका छन् ।

यस्तै फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँ, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, अष्ट्रियाका चान्सलर कार्ल नेहामर लगायतले पनि ट्रम्पलाई बधाई दिएका छन् ।

फक्स न्युजले ट्रम्प विजयी भएको प्रक्षेपण गरेपछि आफ्ना उत्साहित समर्थकहरुलाई फ्लोरिडामा सम्बोधन गर्दै ट्रम्पले आफू विजयी भएको दाबी गर्नुभएको हो । अमेरिकाका अन्य समाचारमाध्यमले भने अझै ट्रम्पले उपराष्ट्रपति कमला हृयारिसलाई पराजित गरेको प्रक्षेपण गरिसकेका छैनन् ।

नाराबाजी गरिरहेका आफना सममर्थकहरुलाई सम्बोधन गर्दै ट्रम्पले अमेरिकाले आफूहरुलाई अभूतपूर्व र शक्तिशाली जनादेश दिएको बताउनु भयो । ट्रम्पले ब्याटलग्राउण्ड वा स्वीङ्ग स्टेट भनेर पहिचान गरिएका सात राज्यमध्ये पेन्सिल्भेनिया, नर्थ क्यारोलाइना र जर्जियामा विजय हात पारेको र कमला ह्यारिस विजयी हुन साँघुरो मार्गमात्रै बाँकी रहेको बीबीसीले टिप्पणी गरेको छ ।

अमेरिकाको ४७ औं राष्ट्रपति चयनका लागि मंगलबार भएको निर्वाचनको मतपरिणाम अनुसार रिपब्लिकन उम्मेदवार डनल्ड ट्रम्प जितको संघारमै पुग्नु भएको छ । सीएनएनका अनुसार ट्रम्पले हालसम्म २ सय ६६ इलेक्ट्रोरल मत प्राप्त गर्नु भएको छ ।

जितका लागि २ सय ७० मत आवश्यक पर्छ । डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसले २ सय १९ इलेक्ट्रोरल मतमा अगाडि हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया