विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी र सूदुरपश्चिम प्रदेशले विजयी भएका छन् ।

प्रतियोगिता अन्तर्गत विहिबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा सूदुरपश्चिले मधेश प्रदेशलाई ११ रनले पराजित गरेको छ ।

टस हारेर ब्याटिङ गरेको सूदुरले निर्धारित ५० ओभरको खेलमा ४२ ओभरमा सवै विकेट गुमाई १ सय १९ रनको झिनो योगफल बनायो । सूदुरका नरेन भट्टले नटआउट ४४ रन बनाउँदा युवराज खत्रीले २५ रनको योगदान दिए । मधेशका अफ्रुदिन रैनले ४ विकेट लिँदा रन्जित कुमारले ३ विकेट लिए ।

१ सय २० रनको झिनो लक्ष्य पाएको मधेशले ४३ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय ८ रनमा सिमित हुन पुग्यो । मधेशका मयन यादवले सर्वाधिक ४७ रनको योगदान दिए । सूदुरका प्लेयर अफ द म्याच नरेन साउदले ४ विकेट दिए । उनले १० ओभरमा ७ मेडन ओभर गर्दै ४ रन दिए । सूदुरले खेलेको ४ खेलमा ३ मा जित हात पार्दै ६ अंककासाथ दोस्रो स्थानमा यथावत रहेको छ भने मधेशले खेलेको ४ खेलमा २ मा जित र २ मा पराजित चौथो स्थानमा झरेको छ ।

त्यसैगरी, मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आजै भएको अर्काे खेलमा कोशीले कर्णाली प्रदेशलाई १ सय १८ रनको विशाल अन्तरले पराजित गरेको छ । प्रतियोगितामा कोशीको पहिलो जित हो । टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित ५० ओभरको खेलमा ४८ दशमलव ३ बलमा सवै विकेट गु्माई २ सय ३ रन बनायो । कोशीका प्लेयर अफ द म्याच सोनु अन्सारीले ८९ रन बनाउँदा इस्टन रिजालले २३ रन र आशिष मगरले २१ रन बनाए । कर्णालीका अरविन्द घर्तीले सर्वाधिक ४ विकेट लिए ।

२ सय ४ रनको विजयी लक्ष्य पाएको कर्णालीले २५ दशमलव १ बलमा सबै विकेट गुमाउँदै ८५ रन सिमित भयो । कर्णालीका अरविन्द घर्र्तीले २१ रन बनाउँदा कमल विष्टले १७ रनको योगदान दिए । कोशीका प्रेम कामतले ३ विकेट लिँदा आशिष मगरले पनि ३ विकेट दिए । कोशीले खेलेको ४ खेलमा १ खेलमा जित र ३ खेलमा पराजित हुँदै २ अंकका साथ छैठौ स्थान रहेको छ भने कर्णालीले खेलेको ३ खेलमा जित विहिन हुँदै पुछारमा रहेको छ ।

शनिबारको खेल बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा कोशी र वागमती प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा लुम्विनी र गण्डकी प्रदेशबीच खेल हुनेछ ।

तपाईको प्रतिक्रिया