विराटनगर १४ कात्तिक । नेकपा एमालेका बरिष्ठ नेता इश्वर पोखरेलले मुलुकको स्थायीत्वका लागि नेपाली कांग्रेस र एमालेको वीचमा गठबन्धन गरिएको बताउनु भएको छ । मुलुकलाई थप संकटमा फस्न नदिनका लागि दुई ठुला पार्टीहरु मिलेर सरकार गठन गरिएको उहाँको भनाई छ ।
नेकपा एमाले मोरङले पार्टी कार्यालय पाञ्चालीमा आज आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा नेता पोखरेलले सो कुरा बताउनु भएको हो । कांग्रेस र एमालेवीचको सहकार्य राष्ट्रलाई संकट पर्दा हुने गरेको उहाँको भनाई छ । बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो,‘ नेपाली कांग्रेस र एमालेवीच मुख्यगरि २०३६, ०४६, ०६२ र संविधान जारी गर्दा सहकार्य भएको छ ।’ दुई पार्टीवीचको सहकार्य आगामी २०८४ सम्म रहेको उहाँले बताउनुभयो । नेता पोखरेलले भन्नुभयो,‘ निर्वाचनमा हामी एक्ला एक्लै लड्ने छौं ।’
नेकपा एमालेको यात्रामा जहिल्यै चुनौति आउने गरेको बरिष्ठ उपाध्यक्ष पोखरेलको भनाई छ । एमालेले हरेक चुनौतीलाई पार लगाउँदै अघि बढ्ने गरेको उहाँको भनाई छ । कार्यक्रममा एमाले उपाध्यक्ष गुरु बराल, स्थायी कमिटी सदस्य तथा प्रदेश इञ्चार्ज शेरधन राई, केन्द्रीय सदस्य जीवन घिमिरे, प्रदेश अध्यक्ष घनस्याम खतिवडा, मोरङ अध्यक्ष बाबुराम कार्की लगायतले बोल्नु भएको थियो ।