विराटनगर /पत्रकार बाबुराम भण्डारी जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।
प्रेस चौतारी मोरङले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा पत्रकार भण्डारीलाई पुरस्कार प्रदान गरिएको हो ।
चाडपर्वहरुको अवसरमा चौतारीले हरेक वर्ष आयोजना गर्दै आएको शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि एमाले उपाध्यक्ष गुरु बरालले १५ हजार पाँच सय रुपैयाँ राशीको पुरस्कार भण्डारीलाई प्रदान गरेका हुन् ।
डेढ दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय पत्रकार भण्डारी उद्घोष दैनिकमा रहेर राजनीतिक, आर्थिक तथा सामाजिक अभिरुचिका विषयमा कलम चलाउँदै आएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष बरालले संविधान संशोधनका लागि एमाले र नेपाली कांग्रेसको गठबन्धन बनेको बताए । लोकतन्त्रको संस्थागत विकास, देशको विकास र समृद्धिका लागि गठबन्धन बनेको उनको तर्क छ । सहमतिका आधारमा संविधान संशोधन हुने बराल बताउँछन् ।
बरालले संविधानका सबल पक्षलाई अगाडि बढाइने र कमजोर पक्षलाई संशोधन गरिने स्पष्ट पारे । संविधान संशोधनको विषयलाई प्राथमिकतामा राखेर काम भइरहेको उनको भनाइ छ ।
सरकारले सत्तामा रहेकालाई संरक्षण गर्ने र सत्ताभन्दा बाहिर रहेकालाई थुन्ने नीति नलिएको उनले बताए । गल्ती गरेमा सत्तामा बसेकाहरू पनि सजायको भागिदार बन्ने बरालको दाबी छ ।
उनले सञ्चार जगतले नेपाली राजनीतिलाई सही बाटो देखाउने काम गरेको बताए । ‘सञ्चार क्षेत्रले बाटो बिराउनेमाथि औंला उठाएको छ । लोकतन्त्रको संस्थागत विकासका लागि खबरदारी गरेको छ । लोकतन्त्रको संस्थागत विकासमा सहयोग गरेको छ,’ उनले भने ।