सोलुखुम्बु । करदाता सेवा कार्यालय लुक्लाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ३ महिनामा लक्ष्यको झण्डै तेब्बर राजस्व संकलन गर्न सफल भएको छ ।

सोलुखुम्को खुम्बु क्षेत्रमा रहेको उक्त कार्यालयले चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा ४२ लाख ७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा १ करोड १३ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गर्न सफल भएको हो ।

जसमा आय कर बापत ७६ लाख २३ हजार, भाडा कर बापत १ लाख १० हजार, मुल्य अभिवृद्धिकर २० लाख ६६ हजार र अन्तशुल्क १५ लाख ५८ हजार रुपैयाँ संकलन भएको कर अधिकृत दिनेश पौडेलले बताउनुभयो ।

उक्त संकलन भएको राजस्व लक्ष्य लिइएको भन्दा ७१ लाख ४९ हजार रुपैयाँ धेरै रहेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया