काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरू तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने भएको छ ।
त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०८० चैत १५ गतेको बसेको बैठकले उक्त व्यवस्थाअनुसार आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागू गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागू गर्ने निर्णय गरेको हो ।
यो निर्णय गरेसँगै शिक्षा मन्त्रालयलाई एक पत्र लेख्दै त्रिविले पहिलो चरणमा हाललाई शिक्षा शास्त्र सङ्काय, मानविकी सङ्काय, व्यवस्थापन सङ्काय र कानुन सङ्कायको स्नातक तहको परीक्षामा सोधिने प्रश्नहरू नेपाली र अङ्ग्रेजी दुवै भाषामा सोध्ने प्रबन्ध मिलाइने जनाएको छ ।