काठमाडौं । बडादशैँ अन्तर्गत आज त्रयोदशी तिथि । चौथो दिन आज पनि मान्यजनको हातबाट दशैँको टीका र जमरा लगाएर आशीर्वाद थाप्ने क्रम जारी छ ।

कुनैकुनै स्थानमा दशैंको दिनमात्र टीका लगाउने चलन भए पनि दशैंको टीका पूर्णिमाको दिनसम्म लगाउने गरिन्छ । खासगरी मान्यजनबाट टाढा भएकाहरू कोजाग्रत पूर्णिमाको दिनसम्म पनि टीका थाप्न पुग्छन् ।

यस वर्ष कोजाग्रत पूर्णिमा असोज ३० गते बुधबार परेको छ । कोजाग्रत पूर्णिमामा दशैंघर वा पूजाकोठामा राखिएको जमरा र पूजा सामग्री विसर्जन गरेपछि दशैं सकिन्छ ।

दशैं बिदामा बन्द भएका सरकारी कार्यालयहरू आजदेखि खुलेका छन् । सरकारी कार्यालयहरूमा फूलपातीदेखि द्वादशीको दिनसम्म सार्वजनिक बिदा दिइएको थियो । आजबाट भने सरकारी कार्यालयका सेवाहरू नियमित रूपमा सञ्चालन हुनेछन् ।

दशैं सकिने संघारमा रहेको र सरकारी कार्यालय पनि खुलिसकेकाले गाउँघर गएकाहरू आफ्नो कर्मथलो फर्किने क्रम ह्वात्तै बढेको छ । त्यसैले सडक क्षेत्रमा मानिस र सवारी साधनको चाप पनि बढेको छ ।

तपाईको प्रतिक्रिया